१० पौष, नेपालगञ्ज । यिसु ख्रिस्टको जन्म दिवस अर्थात ‘क्रिसमस डे’ पर्व आज धूमधामका साथ मनाइँदै छ ।
इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज इसाई समुदायले ‘क्रिसमस डे’ मनाइ रहेका छन् ।
डिसेम्बर २५ तारिखका दिन यिसु ख्रिस्टको जन्म बेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट यिसु ख्रिस्ट जन्मिएका थिए ।
यिसु ख्रिस्टले तीन मुख्य मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा इसाई धर्मावलम्बीले यस दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा यस दिनलाई इसाई समुदायले मनाउने गरेका छन् ।
विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने वि।सं। २०६३ पछि महोत्सवका रूपमा मनाउन थालिएको हो ।
विभिन्न प्राचीन युरोपियन दस्ताबेजमा यिसु ख्रिस्ट धर्तीमा आउनपूर्व नै हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसँगै आजको दिनलाई क्रिसमसका रूपमा मनाउन थालिएको हो । इस्वी सम्वतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रूपमा मनाइन्छ भने केही देशहरूले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।
इस्वी सम्वतलाई यिसु ख्रिस्टको जन्म अगाडि र एनोनो डोमिनी ख्रिस्ट पछाडि गरी दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसार भरिनै उपहारहरू साटासाट गरिँदै, क्रिसमस रुख सिँगार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरूमा गएर क्रिसमस मनाइन्छ ।
सिङ्गारिएको सानो धुपीको जस्तो देखिने च्याट्ट मिलेको रुख अर्थात् क्रिसमस–ट्री आजका दिनमा प्राय देखिन्छन् । संयुक्त राज्य अमेरिकामा मात्रै ३ देखि चार करोड यस्ता क्रिसमस रुखहरूको खरिद बिक्री गरिन्छ । यस्ता रुखहरू तयार हुनलाई कम्तीमा पनि १५ वर्ष लाग्दछ ।
क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुँगा भएको मोटोघाटो ठूलो शरीरको साधुले सबैलाई उपहार दिने र खुसी बाँड्नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतीक्षामा आज धेरै केटाकेटीहरू राती अबेरसम्म सुत्दैनन् । कोही–कोही व्यक्तिहरू सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँड्दै, साट्दै हिँड्दछन् । नाकको ठाउँमा गाँजर, रातो मफलर र अङ्ग्रेजी ह्याट पहिरिएको हिउँ जम्मा पारेर बनाएको स्नो म्यान विदेशका हिमाली क्षेत्रहरूमा अत्यन्त लोकप्रिय छ । त्यस बाहेक क्रिसमसको अवसरमा हिउँकै चरा बनाउने, हिउँमा खेल्ने अनि नाचगान गर्ने चलन पनि छ ।
‘क्रिसमस डे’को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन् ।
क्रिसमस डेको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here