नेपालगञ्ज, पुस २४ । नेपालगञ्जमा दादुरा रुबेलाले महामारीकै रुप लिन थालेपछि सो नियन्त्रणका लागि खोप अभियानसंगै अन्य विभिन्न गतिविधिलाई तिव्रता दिईएको छ । गत एकसातादेखि उपमहानगरमा फैलिएको दादुराको प्रकोप नियन्त्रण गर्न प्रभावित क्षेत्रका ६ महिना देखि १५ बर्ष सम्मका सबै बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप लगाउन स्थानीय सरकार स्वास्थ्य संस्थाहरु सक्रिय भएका छन् । सो क्रममा नेपालगञ्जका मुस्लिम धार्मिक गुरुहरुसंग बाँके युनेस्को क्लबको आयोजनामा स्वास्थ्य कार्यालय र नेपालगञ्ज उपमहानगरको सहजीकरणमा आइतवार छलफल तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । सो कार्यक्रममा सहभागि अधिकांश धर्मगुरुहरुले दादुराको प्रकोप निकै घातक भएको स्विकार्दै सो विरुद्ध लगाइने खोप लगाउन सबैलाई आग्रह गर्ने जनाएका थिए । उनिहरुले खोप अभियानलाई पुर्ण समर्थन गर्ने जनाउँदै मुस्लिम समुदायको बढी जनसंख्या भएका क्षेत्रमा खोप केन्द्र राख्न आग्रह गरेका थिए । विभिन्न मदरसाका मौलाना र ईमाम लगायतका धर्मगुरुहरुको सहभागिता रहेको सो कार्यक्रममा स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत बसन्त कुमार श्रेष्ठ, स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठ, नेपालगञ्ज उपमहानगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेत लगायतले खोप अभियान बारे सहजीकरण गर्नु भएको थियो । धार्मिक गुरुहरु मौलाना मुजाहिद रजा कादरी र जियाउल मुस्तफा नुरानी लगायतले दादुरा नियन्त्रणका लागि खोप लगाउन अनिवार्य भएकोले समुदायलाई सचेत पारिने बताउनुभयो । कार्यक्रमको उदेश्यबारे बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले जानकारी गराउनु भएको थियो भने कार्यक्रम अधिकृत गुलाम गौसले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । सो अभिमुखिकरणमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, युनिसेफ भैरहवाका स्वास्थ्य अधिकृत थाङ्गजी शेर्पा, धुलिखेल अस्पताल विज्ञान केन्द्रका कार्यक्रम संयोजकहरु सुरक्षा कुँवर र अन्जली जोशीको पनि सहभागिता रहेको थियो । सो कार्यक्रमबाट बालबालिकालाई खोप लगाउने योजना र खोप केन्द्र राख्ने स्थान समेत तय गरेर समापन भएको बाँके युनेस्को क्लबले जनाएको छ । बाँकेमा दादुराको महामारी नियन्त्रणमा लिन प्रभावित वडाहरुमा दादुरा विरुद्धको खोप अभियानसंचालन भइरहेको छ । हालसम्म जिल्लामा ७८ जना बालबालिकामा दादुरा पुष्टि भएको छ भने एक जना बालकको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here