८ भाद्र, नेपालगञ्ज । युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि बर्दियामा बाँके युनेस्को क्लबले शिप विकास तालिम सञ्चालन गरेको छ ।
प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको उद्यमशिलता मार्फत महिलाहरुको आर्थिक शसक्तिकरण, स्वरोजगारी सृजना तथा जिविकोपार्जनमा पहुँच र रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
बर्दियाको गुलरियामा बुधवारबाट शुरु गरिएको सो तालिमको अनौपचारिक तरिकाले शुभारम्भ गरिएको थियो । तालिमको शुभारम्भ गर्दै बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले १८ देखि २४ वर्षका १२० जना युवा महिलालाई तालिम दिएर स्वरोजगार बनाउने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले बर्दियाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १२० जना अति विपन्न तथा जोखिममा रहेका युवा महिलालाई शिपमुलक तालिम दिएर विभिन्न चरणपछि ६० जनालाई उद्यम, व्यवसाय गर्न लगाउने र ६० जनालाई रोजगारीको अवसर प्रदान गर्ने बताउनुभयो ।
कोभिड १९ को कारणबाट पर्न गएको आर्थिक प्रभावलाई कम गर्न अति जोखिममा रहेका युवा महिलाको शिप र ज्ञान अभिबृद्धि गरि स्थानीय बजार सुहाउँदो व्यवसाय सञ्चालन गरेर वा रोजगार प्राप्त गरेर आर्थिक रुपमा सशक्त बनाइने परियोजनाको उदेश्य रहेको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, नेपाल पत्रकार महासंघ बर्दियाका पुर्व अध्यक्ष कमल पन्थी, नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्षहरु रुद्र सुवेदी र झलक गैर, पत्रकार नरेन्द्र थापा तथा सिराज खानको पनि उपस्थिति रहेको थियो ।
तालिममा सहभागि हुन आउनु भएका अधिकांश युवा महिलाले आफ्नो आर्थिक अवस्था निकै नाजुक रहेको बेला यो तालिम पाएर स्वरोजगार बनेर जिवनयापन गर्न सहज हुने आशा व्यक्त गर्नु भएको थियो ।
चार दिनसम्म चल्ने सो तालिमका प्रशिक्षक डिला प्रसाद ओली रहनु भएको र तालिममा व्यवसाय छनोट, सञ्चालनका आधारहरु, व्यवसायीक योजना निर्माण र व्यवस्थापनका विभिन्न पक्षहरुका बारेमा जानकारी दिने जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here