काठमाडौँ,जेठ १३ गते । अन्तत नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) लाई छिन्नभिन्न बनाएर नै छोडेका छन् ।
अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई मात्र सरकारमा ल्याउनेगरी तानिएको लहरोले जसपाको पहरो नै तानिएको छ । सरकारमा जाने निश्चित भएपछि जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसदहरु नेता महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पुगेका छन् । अब बाबुराम–उपेन्द्र घटेर १२ जनामा पुगेको छ । 
५ सांसद ठाकुर पक्षमा पुगेपछि बाबुराम–उपेन्द्रमा आफू समेत मात्र १२ जना सांसद छन् । पाँच सांसदले कित्ता परिवर्तन गर्नुको प्रमुख कारण सरकारमा जाने लोभलाई मानिएको छ । 
यसरी कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुग्ने सांसदमा उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङ छन् । ठाकुर पक्ष सरकारमा जाने निश्चित भएपछि उनीहरूले कित्ता परिवर्तन गरेको स्रोतको भनाइ छ । गत वैशाखमा ठाकुर–महतो पक्षले भक्तपुरको डोलेश्वरमा गरेको बैठकमा जसपाका २० जना सांसद उपस्थित भएको दाबी गरेका थिए । 
त्यस बैठकमा उपेन्द्र यादव पक्षका कुनकुन सांसद सहभागी थिए भन्ने खुलेको थिएन । स्रोत भन्छ, ‘डोलेश्वर बैठकमा यादव पक्षका श्रीवास्तव र अरगरिया खुलेर आएका थिए । अरू ३ सांसदले आउने आश्वासन दिएका थिए तर त्यस बेला नाम खुलाउन चाहेका थिएनन्। अहिले खुलेरै कित्ता परिवर्तन गरेका छन् ।’ 
यादव पक्षका ५ सांसदले कित्ता परिवर्तन गरेपछि महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णयमा जसपाका २० सांसदको हस्ताक्षर रहेको स्रोतको भनाइ छ ।
संसदीय दलमा ठाकुर–महतो पक्ष बहुमतमा रहे पनि कार्यकारिणी समितिमा आफूहरू बहुमतमा रहेको यादव पक्षका नेताहरूको दाबी छ । जेठ ८ र ९ गतेको कार्यकारिणी समिति बैठकमा बहुमत सदस्य उपस्थित रहेको यादव पक्षले जनाएको छ । उनीहरु एक अर्काले कारबाही गरेको सूचना निकालिरहेका छन् । को आधिकारीक भन्ने खुल्न बाँकी छ । 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here