नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद अमरेशकुमार सिंहले आफू सांसद पदबाट राजीनामा दिने निर्णयमा पुगेको बताएका छन्।

क्रियाशील सदस्यता वितरणमा व्यापक रूपमा धाँधली भएको र वर्षौंदेखि कांग्रेसमा काम गर्दै आएका इमान्दार कार्यकर्ताहरू मर्कामा परेकोले आफू सांसद पदमा बसिरहन उपर्युक्त नहुने सिंहको भनाइ छ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने समय लिइसकेको उनले बताए।

‘प्रधानमन्त्रीसँग समय लिइसकेको छु। आज ६ बजे बालुवाटार गएर सांसद पदबाट राजीनामा दिन्छु,’ ‘सभापति देउवाको हातमा राजीनामा पत्र बुझाउँछु।’पार्टी कार्यालयमा सर्लाही, धनुषा, बारालगायत जिल्लाका नेता तथा कार्यकर्ताहरू विगत दुई सातादेखि अनसन र धर्नामा बसे पनि नेतृत्वले समस्या समाधान गर्न ध्यान नदिएको सिंह बताउँछन्।

सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा बिजयी भएका थिए।

क्रियाशील सदस्यता वितरणको नाममा पार्टीमा काम नगरेका ठेकेदारलगायतलाई क्रियाशील दिइएको आरोप उनको छ।

‘आज बिपी स्मृति दिवस पनि हो। बिपीलाई सम्झँदै सांसद पदबाट मैले राजीनामा दिने निर्णय गरेँ,’ उनले भने, ‘इमान्दार कार्यकर्ताले क्रियाशील सदस्यता पाएका छैनन्।
’सर्लाहीमा अन्य पार्टीबाट आएकाहरूलाई समायोजनका नाममा धेरै क्रियाशील सदस्यता दिएकोमा सिंहले असन्तुष्टि जनाउँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here