८ असार, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज कुमार श्रेष्ठले बालमैत्री स्थानीय शासनको सिद्धान्तलाई अवलम्बन गर्दै अवको ३ वर्षभित्र वडालाई बालमैत्री वडा घोषणा गर्ने गरीे योजनाबद्ध रुपले अभियान सञ्चालन गर्ने बताएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ को आयोजना र बास नेपालको सहयोगमा आयोजित २ दिने तालिमको शुक्रबार समापन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यबिधि २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसार वडालाई ३ वर्षभित्र बालमैत्री वडा घोषणा गर्ने अभिप्रायका साथ आयोजना गरिएको तालिममा बोल्दै अध्यक्ष श्रेष्ठले वडामा रहेका सबै सरोकारवाला निकायको समन्वय र सहयोगबाट मात्रै अभियानले सार्थकता पाउने बताए ।
२ दिन सम्म चलेको तालिमको समापनमा बोल्दै वडा सदस्य गिता रानाले तालिमबाट बालमैत्री स्थानीय शासनको वारेमा सबैलाई जानकारी भएको बताउदै सबैले आ—आफ्नो जिम्मेवारी पुरा गर्न लागि परेमा वडालाई बालमैत्री वडा बनाउने अभियान सफल हुने बताइन् । तालिमका सहभागि रुपक श्रेष्ठले तालिमका विषयवस्तु समयसान्दर्भिक भएको र उपलब्धिमुलक भएको बताए । ढिलै भएपनि वडा कार्यालयले सुरु गरेको अभियानलाई सफल बनाउने सबैको सहयोगको आवश्यक रहेको भन्दै वडा भित्र रहेका सबै निकायहरुले बालमैत्री स्थानीय शासनका सूचकहरु पुरा गर्ने अभियानमा लागिपर्ने बताए । तालिमका अर्का सहभागि सुष्मा अर्यालले वडाभित्र यस पहिले बनेका संरचनाहरु बालमैत्री नबनेको बताउदै अव बन्ने संरचनाहरु बालमैत्री बनाउनेतर्फ सबैको ध्यान दिनुपर्ने बताइन् ।
२ दिन सम्म चलेको तालिममा बास नेपालका निवर्तमान अध्यक्ष रमेश सिटौला, केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्मा, पुर्व अध्यक्ष मन भण्डारी र बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले बाल अधिकार, बाल संरक्षण, बालबाललिकाको आधारभूत अधिकार तथा व्यवस्था र कानुनी प्रावधान, बालमैत्री स्थानीय शासनको अवधारणा, विषय, मुख्य क्षेत्र तथा सिद्धान्त, बालमैत्री स्थानीय शासनका सूचकहरु, बालमैत्री स्थानीय शासनका चरणहरु, स्थानीय सरकारको भुमिका लगायतको विषयमा प्रशिक्षण दिएका थिए ।
तालिममा बाल मैत्री स्थानीय शासन वडा समितका पदाधिकारीहरु, वडा भित्र रहेको विद्यालयका प्रधानाध्यापकहरु, टोल विकास संस्थाका अध्यक्षहरु, वडा स्तरीय बाल क्लव संजाल तथा वाल क्लवका पदाधिकारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, सामुदायिक प्रहरी लगायतका ३५ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको संचालन बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्माले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here