नेपालगञ्ज, चैत ६ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बारबर्दिया नगरपालिकामा सञ्चालित बालसंरक्षण कार्यक्रमको अनुगमन गरिएको छ ।
बाल संरक्षण कार्यक्रम अन्तर्गत बारबर्दिया ४ र ५ मा गठन गरिएको विभिन्न समुह तथा बालअधिकार समितिको प्रगतिका सम्बन्धमा स्थलगत अनुगमन गरिएको हो ।
बाँके युनेस्को क्लबको व्यवस्थापन समिति र पत्रकारको संयुक्त टोलीले बारबर्दिया नगरपालिका ४ घोरपिट्टामा रहेको अभिभावक समुह र किशोरी क्लब तथा वडा नम्बर ५ को बाल अधिकार समितिका पदाधिकारीहरुसंग छलफल तथा अन्तरक्रिया गरेर हालसम्मको प्रगतिका बारेमा जानकारी लिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
घोरपिट्टामा रहेको अभिभावक समुह र किशोरी समुहले निरन्तर वालविवाह रोकथाम, बाल संरक्षण र बालअधिकारका लागि काम गरिरहेको पाईएको वडा नम्बर ४ का वडा अध्यक्ष सिताराम योगीले बताउनुभयो ।
उहाँले यसैगरि किशोरी समुहले बालविवाह, बालहिंसा, बाल अधिकार, किशोरीहरुले हिंसाबाट बच्नका लागि गर्नु पर्ने उपाय, आत्मरक्षा जस्ता विषयमा सचेतना फैलाउने काम गरिरहेको देखिएको बताउनुभयो ।
सो अवसरमा अभिभावक समुहका अध्यक्ष पार्वती थारु र किशोरी क्लबकी अध्यक्ष अनुजा थारुले समहुका हालसम्मका गतिविधि र कामहरुको विस्तृत जानकारी गराउनु भएको थियो ।
दुबै समुहले बालबालिकाहरुलाई नियमित विद्यालयमा पठाउने, बालविवाह हुने सम्भावना देखे सम्झाउने वा सम्बन्धित निकायमा जानकारी गराउने, कुलत तथा लागुऔषधमा किशोरकिशोरीहरु पर्न सक्ने भएकोले उहाँहरुलाई जोखिमबाट छुटाउन प्रयास गर्ने लगायतका क्रियाकलाहरु गरिहेको जनाएका थिए ।
यसैगरी सो अनुगमन टोलीले बारबर्दिया वडा नम्बर ५ मा गठन गरिउको बाल अधिकार समितिसंग पनि छलफल तथा अन्तरक्रिया गरेको थियो । सो छलफलमा समितिले बालविवाह रोक्न निरन्तर काम गरिरहेकोले हालसम्म समितिको पहलमा सात वटा बालविवाह रोकिएको वडा नम्बर ५ का वडा अध्यक्ष लालबहादुर चौधरीले बताउनुभयो ।
उहाँले बालविवाह न्युनिकरणकालागि वडा कार्यालयले विवाह गर्दा वडाबाट सिफारिश दिनु पर्ने, निमन्त्रण कार्ड र ब्यानरमा दुलाहादुलहीको उमेर उल्लेख गर्नु पर्ने, उमेर नपुगि भागीविवाह गरेमा वा घरपरिपारले गराउन सहयोग गरेमा वडाबाट पाईने सेवासुविधाबाट बञ्चित गराउने, लगायको निर्णय गरेको, चाडपर्व तथा दिवसहरुमा संघसंस्थाहरुको सहयोगमा वालविवाह सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिरहेको बताउनु भयो ।
अनुगमन टोलीमा बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दिकी, अध्यक्ष रबि तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्त प्रमुख वेद पंगाली, अनुगमन अधिकृत अनुप बर्मा, कार्यक्रम अधिकृत ईश्वर विक, पत्रकारहरु र क्लबका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here