२२ कात्तिक, नेपालगन्ज । शुक्रवार गएको भूकम्पबाट घाइते भएकाहरु र उनका कुरुवाहरुलाई नेपालगन्जमा विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा लगातार निशुल्क खानाको ब्यवस्थापन गरिएको छ । भेरी अस्पतालमा उपचाररत भूकम्पमा परि घाइते भएका बिरामीहरु र उनिहरुका कुरुवाहरु सहित उपचारमा सेवारत स्वास्थ्यकर्मीहरुलाई अन्जनी माता रसोइ मार्फत निशुल्क खानाको ब्यवस्था गरिएको हो । सो निशुल्क खानाको व्यवस्थापनमा विशेष सहयोग बाँके युनेस्को क्लब र समाजसेवी ध्रुव देवकोटाले गर्नु भएको जिल्ला आपतकालीन कार्यसन्चालन केन्द्र, बाँकेले जनाएको छ । आपतकालीन कार्यसन्चालन केन्द्र, बाँकेका फोकल पर्सन नरेस श्रेष्ठका अनुसार शुरुमा नै बाँके युनेस्को क्लवको तर्फबाट ५२८ छाक खाना र समाजसेवी ध्रुव देवकोटाबाट ५०२ छाक खानाको लागि रसोइघरलाई सहयोग प्रदान भएपछि निशुल्क खानाको व्यवस्थापन गर्न सकिएको हो । सोही सहयोगका कारण भुकम्पमा परेर तत्काल उपचारका लागि नेपालगन्ज भेरी अस्पतालमा पुरयाईएका घाइते, उनका आफन्त र स्वास्थ्यकर्मीलाई समेत निशुल्क खाना प्रदान गर्न सकिएको अनजी माता रसोइघरका संचालक जितेन्द्र कुमार सिंहले बताउनुभयो । उहाँले भूकम्प पछि अस्पतालमा घाइते भर्ना भएयता करिब ७०० जनाले निशुल्क खानाको सेवा उपभोग गरिसकेको जनाउँदै अझै सो सेवा जारी रहेको बताउनुभयो । संचालक सिंहले अहिले सम्ममा रसोइलाई १ हजार ३० छाक खानाको सहयोग प्राप्त भइसकेको र थप सहयोगका लागि प्रयास चलिरहेको बताउनुभयो । भेरी अस्पतालको हाता भित्र रहेको सो रसोइघरले प्रति छाक ४० रुपियाँका दरले लगातार भेरी अस्पतालमा उपचाररत बिरामी र उनका आफन्तलाई खानाको ब्यवस्थापन गर्दै आएको थियो, तर भुकम्पपिडत घाइते र कुरुवालाई भने गत पाँच दिनदेखि निशुल्क खाना खुवाउँदै आएको छ । खाना ब्यवस्थापनमा नेपालगन्जमा स्थानीय युवाहरुले स्वयमसेवकको भूमिका निभाइरहेका छन् । खानाका लागि सहयोग गर्ने दाताहरुलाई भेरी अस्पताल बिकास समिति र आपतकालीन कार्यसन्चालन केन्द्र बाँकेले धन्यवाद ज्ञापन गर्दै थप दाताहरुलाई पनि सहयोग गर्न अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here