२३ फागुन, नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका मोहम्मद इश्तियाक राई २४ हजार ६ सय २८ मतका साथ निर्वाचित भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्दी रास्वपाका विवेक कुमार श्रेष्ठले १८ हजार ६ सय ८२ मत प्राप्त गरे ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सुधान्शु कोइरालाले १७ हजार ५ सय ९६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत दिपक कुमार दाहालले जानकारी दिएका
छन् ।
यस्तै क्षेत्र नम्बर १ मा रास्वपाका सुरेश कुमार चौधरी ३२ हजार ७ सय ९२ मतका साथ विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नारायण प्रसाद गौडेलले १५ हजार ३ सय १ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेका एमालेका सुर्य प्रसाद ढकालले ११ हजार ९५ मत प्राप्त गरेको निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले जानकारी दिए ।
यसैगरी क्षेत्र नम्बर ३ रास्वपाका खगेन्द्र सुनार निर्वाचित भएका छन् । सुनार २९ हजार ५ सय ५१ मतका साथ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनका निकटतम् प्रतिद्वन्दी सुमन मल्लले १९ हजार ६ सय १५ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका नेपाली कांग्रसका उम्मेदवार अमर सिंह पुनले १३ हजार २ सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिएका छन् ।
बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी मोहम्मद इश्तियाक राई जनतामाझ निकै लोकप्रियता रहेका छन् । यसै कारण उनी जुनसुकै पार्टीमा रहेपनि उनी जनताको रोजाइमा पर्ने गरेका
छन् । मनोनयन दर्ताको अघिल्लो दिन ५ माघमा मात्र उनी एमाले प्रवेश गरेका थिए ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एमालेमा प्रवेश गर्न उनले बाँके–२ को टिकटलाई सर्त बनाएका थिए ।
देशभर रास्वपाको लहर आउँदा इश्तियाक राईले एमाले प्रवेश गरेर जित्ने आधार भने सत्ता यात्रासँगै शुरु भएको थियो ।
०७४ सालको निर्वाचनपछि केपी ओली नेतृत्वको सरकारमा उनी सहभागी थिए । त्यो सरकारमा सहरी विकास मन्त्री बनेबाटै उनी ओली नजिक हुने अवसर पाएका थिए ।
०८१ साल असारमा उपेन्द्र यादव नेतृत्वको जसपा विभाजित हुँदा उनले अशोक राई खेमा रोजे तर यो निर्वाचनको मुखमा पार्टी जसपा छोडेर एमाले प्रवेश गर्दै उम्मेदवार बनेका थिए ।
ईश्तियाकको राजनीतिक जीवनमा एमाले बन्नु चौथो पार्टी प्रवेश हो । उनले ०५३ सालमा राप्रपाबाट राजनीति थालेका
थिए । ०६४ सालको मधेश आन्दोलनसँगै उनी उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरममा लागे । उपेन्द्रकै पार्टीको उम्मेदवार बनेर बाँके–२ बाट ०६४ र ०७४ सालको निर्वाचन निर्वाचन जितेका उनले ०७० र ०७९ को निर्वाचन पराजित भएका थिए ।
पहिलोपटक निर्वाचन जितेपछि उनी श्रम तथा यातायात मन्त्री बनेका थिए । उनी जसपाको केन्द्रीय महासचिव बनिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here