१४ असार, नेपालगञ्ज । बाँकेको वैजनाथ गाउँपालिकामा विहीवार गाउँपालिका स्तरीय नेपाल स्वयंसेवी रक्तदाता समाज उप–शाखा गठन गरिएको छ । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ देशभर क्रियाशील समाजको उप–शाखा वैजनाथमा गठन गरिएको हो ।
वैजनाथ गाउँपालिका वडा नं. २ मा विहीवार भएको स्थानीयबासीहरुको भेलाले सुरेन्द्र वि.क.को अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति गठन गरिएको छ । उक्त समितिको उपाध्यक्षमा दिपक कार्की., सचिवमा सोनु सिंह वि.क., कोषाध्यक्षमा उषा थापा मगर र सहसचिवमा हेमन्त ओली चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सपना ओली, वीर बहादुर थारु, सन्दीप खप्तडी, कृष्ण सिंह ठकुरी, सिताराम खत्री रहेका छन् ।
त्यसैगरि सल्लाहकारहरुमा वैजनाथ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष राजु रुचाल ठकुरी, जिल्ला सहकारी संघ, बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी, शेर बहादुर बस्नेत, अगन मल्ल, यज्ञ पुन, एकता शाह,भूमिसरा थापा, सितादेवी विश्वकर्मा र भूपाल शर्मा चयन भएका छन् ।
सो अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोविन्द वाग्लेले समाजले रगतको अभावमा कसैले जीवन गुमाउन नपरोस् भनेर देशभर रक्तदान अभियानलाई वृहद् बनाउन शुरु गरिएको बताए ।
विगत १८ वर्षदेखि त्रैमासिक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जनमत अद्र्धसाप्ताहिकका सम्पादक तथा समाजका सल्लाहकार पूर्ण लाल चुकेले हाम्रो एक पिन्ट रगतले कसैको ज्यान बच्छ र नयाँ जीवन पाउँछ भने रक्तदानको यो महान अभियानमा सबैले हातेमालो गर्न जोड दिए ।
सल्लाहकार चुकेले रक्तदान सबभन्दा ठुलो मानवीय सेवा र दान हो, यो भन्दा ठुलो सेवा अरु केही हुन सक्दैन भन्दै रक्तदानको महान अभियानमा गाउँगाउँका युवा रक्तदाताहरुले योगदान दिनुपर्नेमा जोड दिंदै उत्प्रेरणा जगाए । उनले वैजनाथ गाउँपालिकाका रगतको आवश्यकता परेका बासिन्दालाई रेडक्रसलाई बुझाउनु पर्ने दस्तुर उपलब्ध गराउन बजेट विनियोजन गर्न आग्रह गर्दै स्वयंसेवीहरुले निःस्वार्थ भावले दिएको रगतको मूल्य कसैले पनि लिन नहुने बताए ।
वडा नं. २ का अध्यक्ष राजु रुचाल ठकुरीले निर्वाचित पदाधिकारीहरुलाई बधाई दिंदै यस गाउँपालिकामा दुई वर्ष अघि नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सम्पन्न वृहद् रक्तदान कार्यक्रममा ३ सय ४५ जनाले रक्तदान गरेर नेपालमै अहिलेसम्मको नयाँ कीर्तिमान कायम गरेको स्मरण गराए । उनले अब वैजनाथ गाउँपालिकामै नेपाल स्वयंसेवी रक्तदाता समाज उप–शाखा गठन गरेर अभियानमा पुस्तान्तरण भएको र रक्तदान अभियानलाई निरन्तरता हुने विश्वास गर्दै वडा कार्यालयबाट पनि सहयोगको प्रतिवद्धता व्यक्त गरे ।
समाजका कोषाध्यक्ष मनमोहन वर्माले सञ्चालन गरेको उक्त भेलामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय सदस्य गोविन्द वाग्ले र सल्लाहकार पूर्ण लाल चुकले अविर लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
वडा नं. २ का अध्यक्ष राजु रुचाल ठकुरी र समाजका सदस्य होमराज गिरीको समन्वय र सक्रियतामा सम्पन्न उक्त भेलाको समापनमा समाजका उपशाखाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र वि.क.ले रक्तदान अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
समाजका सदस्य तथा नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्त सञ्चार केन्द्रका वरिष्ठ प्राविधिक होमराज गिरीले ४० वर्ष उमेर पुगेका र ४५ के.जी. तौल भएका कुनै पनि युवाले रक्तदान गर्न सक्ने बताउँदै हरेक तीन महिनामा शरीरमा नयाँ रक्त कोषिका तयार हुने हुँदा हरेक तीन महिनामा रक्तदान गरेमा स्वास्थ्यमा कुनै नकारात्मक असर नपर्ने बताए ।
कोषाध्यक्ष मनमोहन वर्माले अध्यक्ष सुरेन्द्र वि.क.लाई माइन्यूट बूक, सदस्यता रसिद र आजीवन सदस्यताको दरखास्त फाराम हस्तान्तरण गरेका थिए ।
बाँके जिल्लामा खजुरा गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारीमा यसअघि नै पालिका स्तरीय उपशाखा गठन भइसकेको छ भने अन्य बाँकी रहेका बाँकेका गाउँपालिकामा पनि क्रमिक रुपमा उपशाखा गठन गर्ने योजना रहेको समाजका अध्यक्ष दिला शाहले जानकारी दिइन् । मोटर साइकल दुर्घटनामा परि घाइते भएको कारण भेलामा अनुपस्थित समाजका जिल्ला अध्यक्ष शाहले टेलिफोनबाट उक्त जानकारी दिएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here