८ मंसिर, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन ’सचेतना प्रवर्धन र जरिबाना अभियान’ सुरु गरेको छ ।
नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको वैठकले नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन प्रभावकारी अभियान संचालन गर्ने निर्णय गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले मंसिर २२ गतेसम्म सूचना प्रकाशन÷प्रशारण, माइकिङ र पम्प्लेट वितरणमार्फत सचेतना अभियान संचालन गरेको वातावरण इन्जिनियर प्रकाश डिसीले बताए । तत्पश्चात निरन्तर अनुगमन र निरीक्षण गरिने डिसीको भनाई छ । अनुगमनका क्रममा गैरजिम्मेवारी देखिएमा फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जरिवाना हुनेछ ।
नगर प्रमुख विष्टले सफा, स्वच्छ र सुन्दर सहर बनाउन नगरवासी सबैले संकल्प गर्नुपर्ने बताउँदै पटक–पटक सम्झाउँदा पनि अटेर गरे अब जरिवाना गरिने बताए ।
‘पहिलो चरणमा स्याम्प्लिङको रुपमा न्युरोड कल्पत्रु होटेलदेखि चारबाहिनी चोकसम्म सघनरुपमा अभियान चलाएर सुरुवात गर्छौं, त्यसपछि यसलाई ब्यापकरुपमा अगाडि बढाउँछौ’, उनले भने । फोहोरमैला व्यवस्थापन ऐन अनुसार जथाभावी फोहोर फालेमा ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
नेपालगञ्ज उपमहानगरले दैनिकरुपमा बिहान फोहोर संकलन गरिरहेको छ । आफ्नो फोहोर आफ्नै डस्टविनमा राखेर फोहोर संकलन गर्ने गाडीमा राख्न प्रोत्साहन गर्न अभियान थालिएको हो ।
वैठकमा उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष मो. अयुब सिद्दिकी, ९ का अध्यक्ष गोविन्द रेग्मी, १० का अध्यक्ष श्रवणकुमार श्रेष्ठ, ११ का अध्यक्ष नन्दकिशोर कश्यप, फोहोरमैला व्यवस्थापन अभियन्ता एवम् बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष गोपाल गिरी, होटल व्यवसायी संघका अध्यक्ष रंगबहादुर खड्का, वैश्य समाज, मुस्लिम समाज, नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here