नेपालगन्जः निषेधाज्ञा थप खुकुलो भएसँगै पश्चिम नेपालको सबैभन्दा ठूलो व्यापारिक केन्द्र नेपालगन्जमा चहलपहल ह्वात्तै बढेको छ । सडकमा सवारीसाधनको चाप र बजारमा मानिसको भिडभाड छ ।

कोरोना महामारी नियन्त्रणका लागि भन्दै वैशाख ९ गतेदेखि लागू भएको निषेधाज्ञा असार दोस्रो सातादेखि थप खुकुलो भएको छ । खुकुलो निषेधाज्ञामा जनस्वास्थ्यको मापदण्ड पालना गर्न सरकारले आग्रह गर्दै पनि आइरहेको छ । बाँके प्रशासनले त झन तेस्रो लहरको भाइरस संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डपूर्णरुपमा पालना गर्न सूचना निकालेरै आग्रह गरिसकेको छ ।

तर, बढ्दो भिडभाड र चहलपहल हेर्दा मानिसहरुले कोरोनालाई गिज्याइरहेको महसुस हुन्छ । न दुई मिटरको भौतिक दूरी कायम भएको देखिन्छ, न त मास्कको उचित प्रयोग नै । व्यापारी तथा पसलेहरुले समेत मास्क नलगाएर व्यापार गरिरहेको देखिन्छ । उद्योग तथा कलकारखाना र सार्वजनिक तथा निजी निर्माण कार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने व्यवस्था छ ।

यसैगरी, अत्यावश्यक सेवाहरु बाहेक सार्वजनिक सवारी साधानमा समेत जोर बिजोर प्रणाली लागू गरी सञ्चालन गर्न दिइएको छ । तर जनस्वास्थ्यको पूर्ण पालना भने हुन सकेको छैन् । हाल सभा सम्मेलन, व्यवसाय तथा नित्य पूजाको कार्य, खुला स्थानमा मानिसहरु भेला हुने, भिडभाड गर्न, सभा, जुलुस, जात्रा महोत्सव, भोजभतेर गर्न र विवाह, ब्रतबन्ध तथा समूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाइने नियम लागू गरिएको छ । तर यी कार्य बाहेक सबै क्षेत्र अहिले खुला भइसकेका छन् ।

त्यसैले पनि बजार तथा पसलहरुमा मानिसहरुको भिडभाड बढेको देखिन्छ । नेपालगन्जको एक्लैनीमा सामान किनमेलमा व्यस्त कोहलपुरकी आशा सुनार मास्क लगाएपनि भौतिक दूरीको पालना गर्न भने नसकिएको सहजै बताउँनुहुन्छ । ‘कोहलपुरबाट बसमा आए उहाँले भन्नुभयो–‘एउटै सिटमा दुईजना बस्नु पर्यो कसरी दूरीको पालना गर्न सकिन्छ ?’ एक महिना अगाडी बाँके जिल्ला त्यसमा पनि नेपालगन्ज कोरोनाको हटस्पट बनेको थियो । अहिले कोरोना संक्रमण न्युन भएसँगै मानिसहरु कोरोना नभए झै गरेर बजारमा हिडडुल गरिरहेका छन् ।

बौद्धिक जमात समेत बिना माक्स बजारमा हिड्डुल तथा किनमेल गरिरहेको दृष्यहरु देख्निछ । शोभा सुनार भन्नुहुन्छ–‘पहिला जस्तो पसलमा सामान छान्न लाग्दिन छिटोछिटो सामान किनेर निस्किहाल्छु ।’ जिल्ला प्रशासन कार्यलयले जनजीवन सहज बनाउन निषेधाज्ञा खुकुलो बनाइएको र हरेक कार्य गर्दा वा घरबाहिर निस्किदा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने भनेको छ ।

तर नेपालगन्जमा मानिसहरु वेपर्वाह देखिन्छन् । नेपालगन्जका सुर्खेतरोड, त्रिभुवन चोक, घरवारी टोल, एक्लैनी, त्रिवेणीमोड, न्यूरोड, घरबारी टोललगायतका स्थानमा किनमेलको भिडभाड नै लाग्ने गरेको छ । न व्यापारी र पसलेहरुले जनस्वास्थ्यको मापदण्ड पालना गरेको देखिन्छ न त उपभोक्ताले । कोरोना संक्रमणबाट बच्न दुई मिटरको दुरी कायम गर्ने सवाल त परैको हो, मास्क समेत लाउन छाडिएको छ । बजारमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न गराउन सरोकारवाला निकायले ध्यान दिएको देखिँदैन भने सर्वसाधारणले पनि जनस्वास्थ्यको मापदण्डलाई वेवस्ता गरेको देखिन्छ । जस्का कारण भाइरस संक्रमणको जोखिम कायमै देखिन्छ ।

बजार तथा सडकमा देखिएको भिडले फेरि कोरोना संक्रमण बढ्न सक्ने खतरा रहेको चिकित्सकहरुले बताएका छन् । निषेधाज्ञाका कारण केही नियन्त्रणमा आएको कोरोना संक्रमण आगामी दिनमा बढ्न सक्ने भेरी अस्पताल नेपालगन्जका कोरोना फोकलपर्सन डा संकेत रिसालको भनाइ छ । छिमेकी देश भारतमा तेस्रो लहरको भाइरस संक्रमण फैलिँदै गएकाले जनस्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना नगरिए फेरि अवस्था भयावह हुने डा रिसालको चेतावनी छ ।

निषेधाज्ञा खुकुलो हुने बित्तिकै सर्वसाधारणहरुले पहिलो लहरको संक्रमणपछि गरेको गल्ती फेरि पनि दोहो¥याउने काम गरिरहेको उहाँको भनाइ छ । पहिलो लहरको गल्ती दोहो¥याउँदा दोस्रो लहरमा मानवीय क्षती बढी भएको डा रिसालले बताउनुभयो । अहिलको कोरोना संक्रमण अझै संक्रामक रहेको र मानिसहरुले फेरि जनस्वास्थ्यको मापदण्ड बेवास्ता गर्न थालेकाले आगामी दिनमा संक्रमण बढ्ने खतरा देखिएको चिकित्सकहरु बताउँछन् ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे मानिसहरु अनुशासित नहुने हो भने अवस्था फेरि पनि जटिल बन्न सक्ने बताउँनुहुन्छ । उहाँले मास्कको अनिवार्य प्रयोग, भौतिक दूरीको पूर्णपालना र सरसफाईमा विशेष ध्यान दिनु पर्ने सुझाव दिनुहुन्छ ।

नयाँ भेरिन्ट अहिलेको भन्दापनि थप संक्रामक भएकाले थप सावधानी अपनाउन चिकित्सकहरुको सुझाव छ । अत्यावश्यक काम गर्ने अवस्थामा मात्रै घर बाहिर निस्कने, घरबाहिर निस्किदा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, साबुनपानीले हात हुने लगायतका जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here