२० असार, नेपालगञ्ज । डाँका चोरी मुद्दामा सजाय पाइ फरार रहेका एक प्रतिवादीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।
बाँके प्रहरीले बिहीबार बिहान ९ बजे डुडुवा गाउँपालिका–६ शिखनपुरुवामा गोली चलाएर अभियुक्त सरमानसिंह सरदारलाई पक्राउ गरेको हो ।
सरदारलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासीले प्रतिवाद गरेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको हो । स्थानीयले प्रहरीकै हतियार खोसेर आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सरदारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हिरमिनियाको टोली बिहान साढे ८ बजे पुगेको थियो । तर, स्थानीयले प्रहरीले पक्राउ गरिसकेपछि पनि सरदारलाई खोसेर फिर्ता ल्याएका थिए । त्यसपछि आधा घण्टा लगाएर ९ बजे उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताएका छन् ।
झडपका क्रममा एक जना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाइते भएका छन् ।
प्रहरीको गोली लागेर स्थानीय ३० वर्षीय नानक सिंह शिख घाइते भएका छन् भने पक्राउ परेका सरदारलाई पनि गोली लागेको छ । घाइते सबैको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ ।
सरदारलाई बाँके जिल्ला अदालतको २०७० असार १८ गतेको फैसलालाले ६ वर्ष कैद र १२ हजार जरिवाना सजाय सुनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here