नेपालगन्ज, भदौ ७ । प्लान इन्टरनेशनल नेपालको एक उच्चस्तरीय टोलीले बर्दियाको भ्रमण गरेर गुलरिया नगरपालिकाका जनप्रतिनिधिहरुसंग विभिन्न परियोजनाका बारेमा अन्तरक्रिया र छलफल गरेको छ ।
प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा रहेको सो टोली र बाँके युनेस्को क्लबको टोलीले संयुक्त रुपमा गुलरिया नगरपालिकामा पुगेर मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत लगायतसंग बैठक गरेर विभिन्न बिषयमा छलफल गरेको हो ।
प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनसंगै प्लान इन्टरनेशनल नेपाल सुर्खेतका दुर्गा क्षेत्री र जनक गिरीको टोलीले गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, उपमेयर सावित्रा गौतम प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, महिला तथा बालबालिका प्रमुख शीला शाह, शिक्षा शाखा प्रमुख सतीश यादव र विपद फोकल पर्सन मुकुन्द अर्यालसँग अन्तरक्रिया तथा छलफल गरेको थियो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा गुलरियामा सञ्चालन गरिएका विभिन्न परियोजनाले पारेको प्रभावसंगै सुधार गर्नुपर्ने पक्ष र थप आवश्यक परियोजना बारे प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टरलाई जानकारी गराईएको गुलरियाका मेयर यादवले बताउनुभयो ।
उहाँले प्लान इन्टरनेशनल र बाँके युनेस्कोको साझेदारीमा सचालित परियोजनाबाट जोखिममा परेका समुदायको जीवनस्तर उकास्ने, युवती तथा बालिका सशक्तीकरण, गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयलाई सहयोग गर्ने, विद्यालयका शिक्षकहरूको क्षमता अभिवृद्धि, बाल क्लबलाई सक्रिय गर्ने र वालवालिकाको विकासका लागि सहयोग पुगेको बताउनुभयो ।
परियोजनाले मानवअधिकार समिति, किशोर समुह क्लब र विपद् पिडितलाई मानवीय राहतमा गरेको सहयोग पनि सराहनीय रहेको मेयर यादवले बताउनुभयो ।
सो बैठकमा बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष पन्चम गुरुंग, कार्यकारी सदस्यहरू मिना भुषाल र फिरदौस जहाँ, निमित्त कार्यकारी निर्देशक महेश नेपाली, टेक्निकल एडभाइजर साजिद अलि सिद्दिकी, परियोजना प्रमुखहरु विनिता आरसी र गोविन्द लामिछाने लगायत परियोजनाका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here