१९ माघ, नेपालगञ्ज । बाँके जिल्लाको भारतसँग सीमा जोडिएको नरैनापुर क्षेत्रको अनुगमन गरिएको छ ।
नरैनापुरको गंगापुरमा शुक्रबारबाट सुरु हुन लागेको मेलालाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो ।
बाँकेमा केही दिनअघि मात्रै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विपिन आचार्यको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो । आचार्यले सीमावर्ती क्षेत्रलाई प्राथमिकतामा राखेर आकस्मिक निरीक्षण गरेको बताइएको छ । शान्ति, सुरक्षालगायतका विषयमा सीमा क्षेत्रले मुख्य भूमिका खेल्ने हुँदा यसको अवस्था बुझ्न जरुरी रहेको र त्यसका लागि सीमा क्षेत्रको अनुगमन गरिएको हो ।
सीमा क्षेत्रको अनुगमन गर्न पुगेका प्रजिअ आर्चायले इलाका प्रशासन कार्यालय नरैनापुरको भवनको समेत निरिक्षण गरेका थिए । गृह मन्त्रालयले कर्मचारी पठाउने बित्तिकै इलाका प्रशासनको काम सुरु गर्ने आचार्यले बताए ।
पहिलो पटक नरैनापुर पुगेका प्रजिअ आचार्यलाई नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नं. १ का अध्यक्ष इसाक जोलाह, २ का अध्यक्ष मसूद अहमद शाह, ४ का अध्यक्ष मनोज शर्मा लगायतले स्वागत गरेका थिए ।
प्रजिअ आचार्यले अनुगमनका क्रममा गैरकानुनी गतिविधिलाई नियन्त्रणमा लिँदै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका छन् । ‘सीमा क्षेत्र र पिलर (सीमा स्तम्भ) को अवस्था ठीकै रहेको छ,’ आचार्यले भने, ‘छोटी भन्सारहरू नचलेका कारण भारतबाट सामान खरिद गरेर आउँदा राजस्व तिर्न भने सर्वसाधारणले समस्या भोग्नुपर्ने अवस्था रहेको पाइएको छ ।’
प्रजिअसंगै अनुगमनमा नरैनापुर गाउँपालिकाका अध्यक्ष शाह, प्रहरी उपरिक्षक सन्तोष सिहं राठौर, अनुसन्धानका एसपी मोहन कुमार लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here