९ भाद्र, नेपालगञ्ज । भाद्र २ गते सम्पन्न नेपालगञ्ज उद्योग वाणिज्य संघको विवादित बनेको महासचिव पदको मतगणनाका विषयमा शनिबार नेपालगञ्जमा साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले पत्रकार सम्मेलन गरेर पुनः मतगणनाको माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहका अध्यक्ष संजय थापाले महासचिव पदको पुनः मतगणना नभए चरणबद्धरुपमा आन्दोलन गर्ने बताएका हुन् ।
साझा प्रजातान्त्रिक समूहले आफ्ना मागहरुको सम्बोधनका लागि विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषण गरेको हो । उनीहरुले सार्वजनिक गरेको विज्ञप्तिमा मतगणनाको क्रममा केही मतहरु मतपेटिकामा रहेका र गणना गर्ने क्रममा उक्त मतपत्रहरु गणना हुनु हुँदैन भनि प्रतिद्वन्द्वी पक्षले विरोध गरेका कारण तत्काल मगगणना हुन नसकेको उल्लेख गरेको छ ।
साझा प्रजातान्त्रिक समूहले निर्वाचन आयोगद्वारा एक पक्षिय गतिविधि गर्दै आई रहेको भन्दै कूनै पनि हालतमा पुनःगतगणना नगरिए सम्पूर्ण मतगणना नै कैफियत र बैइमानी हुनसक्ने आशंका रहेको व्यक्त गरेको छ ।
यसअघि भदौं २ गते नेपालगञ्ज उद्योग वाणिज्य संघको चुनाव सकियो र भदौ ३ गते बिहानदेखि मतगणनाको काम सुरु भयो । बढी मत पाएर निर्वाचन भएका सबै पदाधिकारीको नाम सार्वजनिक हुँदै गर्दा महासचिव पदको मत परिणाममा भने विवाद उत्पन्न भयो ।
विवादित बनेको महासचिव पदको मतगणना गर्न ढिलाई गरेको भन्दैं साझा प्रजातान्त्रिक उद्योगी व्यावसायिहरुको समूहले नेपालगञ्ज उद्योग वाणिज्य संघमा तालाबन्दी गरेको थियो । महासचिव पदमा आफ्ना उम्मेदवार टंकप्रसाद शर्मालाई सुनियोजित तरिकाले पराजित गरिएको भन्दैं त्यसको बिरुद्धमा शुक्रबार साँझ संघको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको हो ।
निर्वाचन आयुक्त टीकाजंग सिंहले सम्पूर्ण मतपत्र गणना नभएको अवस्थामा नतिजा सार्वजनिक गरेको भन्दैं त्यसको विरुद्धमा संघमा अनिश्चितकालीन तालाबन्दी गरिएको नवनिर्वाचित कोषाध्यक्ष मख्खन धामीले बताए । ताला लगाउने क्रममा उनले निर्वाचन आयोगको जुन किसिमको रबैया छ, एकपक्षिय रुपमा निर्णय गरिएको छ । त्यसको बिरोध गरिएको हो । निर्वाचन टिमले स्वच्छ र धाधलीरहित निर्वाचन सम्पन्न गर्नु पर्ने हो । तर निर्वाचन आयोगले त्यस्तो नगरीकन हाम्रा उम्मेदवारलाई सुनियोजित रुपमा पराजित गरिएको उनको भनाइ छ ।
महासचिव पदको पुनः मतगणना नहुँदासम्म साझा प्रजातान्त्रिकबाट विजेता बनेका पदाधिकारी र सदस्यहरुले सपथ नलिने समेत साझा प्रजातान्त्रिक समूहका अध्यक्ष थापाले बताए । उनले आन्दोलन अनिश्चितकालीन रुपमा सुरु भएको बताउँदै प्रमुख निर्वाचन आयुक्तको गलत क्रियाकलापको घोर भत्र्सना गर्छौ भनेका छन् ।
महासचिव पदको मतगणनामा विवाद आएपछि प्रमुख निर्वाचन आयुक्त सिंहले मंगलबार बिहान ८ बजेदेखि पुनः मतगणना गर्ने भनेर विज्ञप्ति जारी गरेका थिए । तर मंगलबार बिहानै उनी अस्पताल भर्ना भएपछि पुनः मतगणना सुरु हुन सकेन । पछि सिंहले अर्को विज्ञप्ति जारी गर्दै तिन दिनसम्मको पुनः मतगणना कार्य स्थगित भएको जानकारी गराएका थिए ।
मंगलबार बिहानै मतगणना स्थलमा भिडभाड बढेको थियो । तर प्रमुख निर्वाचन आयुक्त बिरामी भएर वेस्र्टन अस्पतालमा भर्ना भएपछि मतगणना कार्य प्रभावित बनेको थियो । प्रमुख निर्वाचन आयुक्त सिंहले महासचिव पदको नतिजा सार्वजनिक गरेपछि विवादमा तानिएका थिए ।
महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले सम्पूर्ण मतपत्र गणना नभएको अवस्थामा नतिजा सार्वजनिक गरेको भन्दैं पुनः मतगणना गर्नु पर्ने माग राख्दै निर्वाचन कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले निर्वाचन कार्यालयमा तालाबन्दी गरिरहेका हो ।
सोमबार १ हजार ९ सय २६ मत प्राप्त गरेका समावेशी प्यानलका उम्मेदवार भिमबहादुर रानाभाटलाई निर्वाचन अधिकारीले विजेता घोषणा गरेका थिए । साझा प्रजातान्त्रिकका टंक प्रसाद शर्माले १ हजार ९ सय २० मत पाएका थिए । ६ मत अन्तरले रानाभाटलाई विजेता घोषणा गरिएको थियो ।
अन्तिम मत परिणाम भन्दै भीमबहादुर रानाभाटलाई विजयी घोषणा गरेपछि मतगणना पूरा नहुँदै घोषणा गरिएको भन्दै रानाभाटका प्रतिद्वन्द्वी टंकप्रसाद शर्मा र साझा प्रजातान्त्रिक समूहले प्रमुख अधिकृत सिंहसहित अन्य ४ जनालाई बन्धक बनाउँदै तालाबन्दी गरेपछि प्रमुख निर्वाचन अधिकृतले पुनः मतगणना गर्ने सहमति गरेर बन्धक मुक्त बनेका थिए ।
उनले गरेको सहमतिलाई समावेशी समूहले भने स्वीकार गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here