२८ वैशाख, नेपालगन्ज । लेखक तथा वामपन्थी चिन्तक नरेन्द्रजंग पिटरको पुस्तक बकपत्रमाथि नेपालगन्जमा विमर्श गरिएको छ ।
मध्यपश्चिम स्रष्टा समाजले आयोजना गर्दै आएको विमर्श बिन्दु श्रृंखलाको चौथो अंकमा पिटरको बक पत्रमाथि विमर्श गरिएको हो । कार्यक्रममा साहित्यकार सनत रेग्मी, पत्रकार दैनिक नेपालगन्जका सम्पादक झलक गैरे र अध्यापक भागवत पौडेलले बकपत्रमाथि आफ्नो दृष्टिकोण प्रस्तुत गरे ।
कार्यक्रममा सहभागीहरुले पनि आफ्ना जिज्ञाशा लेखकसमक्ष राखे र लेखक पिटरले जवाफ दिए ।
कार्यक्रमका वक्ताहरुले पिटरको पुस्तकमाथि मिश्रित धारणा राखे । पौडेलले बकपत्रमा सबाल्टर्नहरुका कुराले प्राथमिकता पाएको र जनयुद्धले उठाएको सर्वाहाराको मुक्तिको सपना तुहिएकोमा लेखकद्धारा व्यक्त तीव्र असन्तुष्टि पठनीय र चर्चायोग्य रहेको बताए ।
उनले बकपत्रमा बाँके बर्दियाका नलेखिएका धेरै पाटाहरु समेटिएको पनि बताए । पत्रकार गैरेले पिटरले बक पत्र भनेपनि उनले आफ्नो जीवनका धेरै पाटाहरुमा पर्दा हालेको टिप्पणी गरे । उनले पिटरले कतिपय कुरा पुस्तकमा लेख्न नसकेको उल्लेख गर्दै त्यसो हुनुको कारण माग गरे ।
साहित्यकार रेग्मीले बक पत्रमा पिटरले धेरै विषय छोएको तर ती विषयका सबै आयामहरु उल्लेख नगरेको बताए । उनले बकपत्रमा निराशा हाबी भएको पनि बताए ।
यद्धपि पिटरले माओवादी आन्दोलन र त्यसको हालको निराशाजनक परिणतिप्रति निर्भिक भएर आफ्ना कुराहरु राख्न सफल भएकोमा प्रशंसा गरे ।
कार्यक्रममा सहभागीहरुले पिटरको राजनीतिक जीवनमा आएका उतारचढाव र उनको अहिलेको राजनीतिक एवं वैचारिक अडानका विषयमा जिज्ञाशा राखेका थिए ।
टिप्पणीकर्ता र सहभागीहरुका जिज्ञाशा र दृष्टिकोणमाथि आफ्नो प्रतिक्रिया राख्दै पिटरले आफ्ना जीवनका सबै घटनाहरु पुस्तकका जस्ताको तस्तै उतार्न कठिन हुने बताए । यद्धपि आफूले आफ्नो जीवन दर्शनलाई र मुक्तिको सपना देखेर जीवनको बाजी राखि होमिएको आन्दोलन तुहिएकोप्रति घृणा अभिव्यक्त गरेको बताए ।
उनले भने, कुनै बेलाको नायक कुनै बेला खलनायकमा परिणत हुन सक्छ । नायक रहेको बेला उसलाई प्रेम र खलनायक बनेको बेला घृणा गर्न सक्नुपर्दछ । उनले आफू अहिलेपनि माओवादी रहेको दाबी गर्दै भने, पहिले म पार्टीमा थिएँ । अहिले सकडमा छु । म सडकको माओवादी हुँ ।
कार्यक्रममा बाँकेका राजनीतिक अगुवा, लेखक, अध्यापक, समाजसेवी लगायतका व्यक्तिहरुको सशभागिता थियो ।
,,,,
सीमा नाका बन्द
छिमेकी देश भारतस्थित उत्तर प्रदेश राज्यको जिल्लामा हुने लोकसभा निर्वाचनका कारण नेपाल–भारतका सीमा नाकाहरु बन्द (सिल) गरिएको छ ।
वि.सं. २०८१ वैशाख ३१ गतेका दिन हुन गइरहेको लोकसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न २०८१ वैशाख २८ गते राती १०बजेदेखि वि.सं. २०८१ वैशाख ३१ गते राती १२ बजेसम्म लागि जिल्लास्थित नेपाल–भारतका सीमा नाकाहरु बन्द (सिल) गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङद्वारा शुक्रवार जारी गरिएको सूचनामा उल्लेख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here