३० श्रावण, नेपालगञ्ज । मस्तिष्कघात भएर उपचार गराईरहेका पत्रकार उदयराज जैसवाललाई नेपाल प्रेस युनियन बाँकेले आर्थिक सहयोग गरेको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको नेतृत्वमा सोमबार जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टीस्थित जैसवालको घरमै पुगेर परिवारलाई चेक हस्तान्तरण गरिएको हो ।
युनियन अध्यक्ष ओलीले उहाँकी धर्मपत्नी रानी जैसवाललाई १० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो । पत्रकार जैसवालको एक महिना अघि स्वास्थ्यमा अचानक समस्या देखिएको थियो ।
स्वास्थ्य अवस्था झन् गम्भिर बन्दै गएपछि भारतको लखनउस्थित एक अस्पतालमा उहाँको उपचार भइरहेको छ । नेपाल प्रेस युनियनको साधारण सदस्य रहनु भएका ३२ वर्षीय जैसवाल पत्रकारिता पेशामै आवद्ध रहनु भएको छ । उहाँ डुडुवामा रहेको रेडियो सफल एफ।एम।मा कार्यरत हुनुहुन्छ ।
चेक हस्तान्तरण गर्दै अध्यक्ष ओलीले आर्थिक अवस्था कमजोर भएका जैसवाललाई थोरै भएपनि राहत मिलोस् भनेर आर्थिक सहयोग गरिएको बताउनु भयो । ‘युनियनले पत्रकारलाई समस्या परेका बेला आर्थिक सहयोग गर्ने भन्ने उद्देश्यले ‘एनपियु पत्रकार कल्याण कोष’ स्थापना गरेको छ, यो कोषमा धेरै रकम छैन, तरपनि समस्यामा परेका पत्रकारलाई सहयोग गर्ने कार्यको संस्थागत रुपमा सुरुवात गरेका छौं, आगामी दिनमा यो कोषलाई थप सशक्त बनाएर लैजाने युनियन बाँकेको योजना छ,’ उहाँले भन्नुभयो ‘हाम्रो यो सानो सहयोगले पनि उदयराज
जीको मनोबल उच्च हुनेछ र उहाँ रोगलाई जितेर पुनः पत्रकारिता पेशामा फर्किनु हुनेछ ।’
कुनै घटना, दुर्घटनामा घाइते भएर वा जटिल खालका रोग लागेर औषधी उपचार गराउन समस्यामा परेका पत्रकारलाई आर्थिक सहायता प्रदान गर्न तथा पत्रकारका अन्य कल्याणकारी कार्यका लागि युनियन बाँकेले ‘एनपियु पत्रकार कल्याण कोष’ स्थापना गरेको थियो ।
सो क्रममा पत्रकार जैसवालकी धर्मपत्नी रानी जैसवालले अप्ठ्यारो परेका बेलामा घरमै आएर आर्थिक सहयोग गरेकोमा प्रेस युनियन बाँके शाखा परिवारलाई धन्यवाद दिनुभयो । श्रीमानको उपचार गर्न आर्थिक समस्या परेपछि जग्गा बेचेर भएपनि उपचार गराइरहेको उहाँले बताउनु भयो । हाल सम्म उपचारमा करिव १२ लाख रकम रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ ।
पत्रकार जैसवालको परिवारमा पत्नी सहित तीन छोरी, एक छोरा र आमा हुनुहुन्छ । बृद्ध अवस्थामा रहनु भएकी आमा पनि प्यारालाईसिस कारण विगत चार वर्षदेखी थला पर्नु भएको छ । चेक हस्तान्तरणका क्रममा युनियन बाँकेका अध्यक्ष ओली, सचिव विजय मल्ल, कोषाध्यक्ष मधु पौडेल, सदस्यद्धय कमल खत्री र दिपक राई उपस्थित हुनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here