१३ मंसिर, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मध्यतिर आइपुगेको छ । ९ दिनसम्म आयोजना हुने महोत्सव मंगलबार पाँचौ दिनमा आइपुगेको छ । पाँचौ दिन दुई नाटकको अलवा नृत्यनाटिका र अडियो नाटक प्रस्तुत भएका छन् ।

निटफेस्टमा मंगलबार बिहान १० बजे महोत्सवले सहकार्य गरेको कुञ्ज थिएटरमा अमेरिकी अडियो नाटक ‘ट्रि कन्फेसन’बारे जुम कक्षा भएको छ । ‘ट्रि कन्फेसन’मा हामीले बिर्सिसकेको मानव र बोटविरुवाबीचको अन्तरसम्बन्धित पारिस्थितिक प्रणाली बारेको कथा एउटा रुखले बताउँछ । दर्शक÷श्रोताहरुले रुखको मुनि बसेर रुखको स्वीकारोक्ति सुन्न पाए । यस अडियो नाटकलाई जेनी दिन बडरले लेखेका हुने भने एरिन बी मिले निर्देशन गरेका हुन् ।
त्यस्तै मंगलबारै उरुग्वेको एन्ड्रेस फागियोलिनो र बेटिना डोमिन्गोएज निर्देशित नाटक ‘रियो’ पनि दिउँसो १२ र ४ बजे मञ्चन भएकोछ । यो थिएट्रिकल क्लाउन पर्फमेन्समा खडेरीले पिरोलेको ठूलो क्षेत्र नजिक रहेको सहरको कथा भन्छ । जब दुईजना मानिसलाई उक्त खडेरी पर्ने क्षेत्रको बारेमा पत्ता लगाउन पठाइन्छ, तिनीहरुको यात्राले मानवीयताका धेरै पत्रहरु खुलाउदै जान्छ ।
चौथो दिन मञ्चन भएको नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’को साँझ ६ बजे पुनः मञ्चन ह्ने कार्यक्रम रहेको छ । केदारनाथ पौडेलले लेखन तथा निर्देशन रहेको यस प्रस्तुतिले हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्व सम्बन्धी प्रश्नहरुसँगै आफूभित्रको विचारहरुलाई फर्केर हेर्ने र त्यसबारे स–साना विवरणहरु याद गर्ने प्रयास गराउनेछ ।
पाँचौ दिनको अन्तिम प्रस्तुति स्वरुप साँझ ७ बजे ‘पाइतालाका यात्रा’ शीर्षकमा नृत्यनाटिका हुँदैछ । नम्रता केसीको कोरियोग्राफीमा चरिया नाचबाट सुरु भएर दर्शकले हिमाल हुँदै तराईसम्म हाम्रो पाइला टेकेर यात्रा गर्नेछन् । यस प्रस्तुतिले सांस्कृतिक पहिचान संस्कृतिका विभिन्न पक्षहरूद पछ्याइएको छ ।
‘पाइतालाका यात्रा’मा मनिषा बस्नेत, कुन्ती सिमाली, रोज महर्जन, ऋतिका महर्जन, अनुपमा केसी, डिलाशा गुरुङ, अनु गौतम, दीपिका खतिवडा, सुजाता गुरुङ, वर्षा ढकाल, ज्ञानु लामा, मेलिशा घिमिरे, सदिक्षा गौतम, सुजाता दास, मृणाल श्रेष्ठ, गणेश श्रेष्ठ, अनू गौतम, रिजवान थापा र सबिना पोखरेलको प्रस्तुति रहनेछ ।
सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’को रुपमा मनाइरहेको महोत्सवमा सोमबार ‘काठमाडौंले छेकेको नेपाली रङ्गमञ्चको दुःखः मञ्च, दर्शक कि नाटक’ विषयक प्यानल डिसकसन भएको थियो । साँझ भएको कार्यक्रममा रङ्गकर्मीहरु पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हिरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गरे ।

सोमबारै केही महिनाअघि मञ्चन भएका नेपाली नाटक ‘खुवालुङः ढुंगाको बाटो’ पनि मञ्चन भएको थियो भने ‘अपाङ्गता भएका दर्शकका लागि रङ्गमञ्च कसरी पहुँचयोग्य बनाउने’ भन्ने विषयक कार्यशाला सम्पन्न भएको थियो ।

मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here