४ असार, नेपालगञ्ज । नेपाली मुस्लिमको हज टोली साउदी अरबस्थित पवित्र इस्लामिक धार्मिक स्थल मक्का तर्फ प्रस्थान गरेको छ ।
शनिवार दिन साँझ वीपी चोकको इदगाहमा हज जाने यात्रीहरु भेला भई त्यहाँबाट काठमाडौं प्रस्थान गरेका छन् ।
नेपाली मुस्लिमको हज टोली यसै साता हवाई उडानबाट साउदी अरब पुग्नेछन् ।
बाँके जिल्लाबाट ८५ जना हजयात्री त्यतातर्फ यसवर्ष गइरहेका छन् ।
विगत वर्ष कोरोना संक्रमणको कारण विश्वका मुस्लिम साउदी अरबमा हज गर्ने मौका पाएका थिएनन् । यस वर्ष हज गर्ने अवसर मुस्लिम समुदायलाई मिलेपनि हज कमिटीले भने नेपाली मुस्लिमको ख्याल नगरि हज यात्राको लागि चर्काे शुल्क असुली गरेको छ । यस वर्ष प्रति हज यात्रीले ४ लाख ६३ हजार रकम हज वापत तिर्नुपर्नेछ । विगत वर्षमा यो शुल्क २ लाख २५ हजार मात्र थियो । यसरी हज कमिटीले हज यात्रीहरुसँग दोब्बर रकम असुली गरेकोले यसको देशभरी नै विरोध भइरहेको छ । गत हप्ता नेपालगञ्जका मुस्लिम समुदायले हज शुल्क घटाउनका लागि जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको थियो ।
शनिवार दिन हज यात्रीहरु वीपी चोकस्थित इदगाहमा पुग्दा उनको परिवार सदस्य, इष्टमित्र र आफन्तहरु हज यात्रीहरुलाई विदाइ गर्न पुगेका थिए । हज यात्रीहरुको विदाईको लागि विभिन्न मुस्लिम अगुवाहरुको त्यहाँ उपस्थिति रहेको थियो ।
हज यात्राका लागि केही हज यात्री बसबाट काठमाडौं प्रस्थान गरेका छन् भने केही हज यात्रीहरु राँझा विमानस्थलबाट हवाई जहाजमार्फत काठमाडौं प्रस्थान गरेका छन् ।
मुस्लिम समुदायको लागि ५ वटा नियम अनिवार्य रहेको छ जसमा हज पनि एक प्रमुख नियम हो । यस कारण मुस्लिम समुदायका व्यक्तिले आफ्नो जीवनमा एक पटक हज पुग्ने अभिलाषा राख्ने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here