१७ असोज, नेपालगञ्ज । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैं) घटस्थापनासँगै बिहीवारदेखि प्रारम्भ भएको छ ।
असत्यमाथि सत्यले तथा आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको शास्वत सन्देश दिने यो पर्वमा दुर्गा भवानीको विभिन्न ९ रुपको पूजा उपासना गरिन्छ जसलाई नौरथा भनिन्छ । हिन्दू धर्मावलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् ।
नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्मान्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
यस्तै विजया दशमीकै अवसरमा नगरको विभिन्न स्थानमा माता दुर्गाको मूर्ति स्थापित भएका छन् ।
हरेक वर्ष झैँ यस वर्षको दसैंको अवसरमा नेपालगञ्जका विभिन्न चोक, गल्ली र सडकमा देवी भवानीको मूर्ति स्थापना भएका छन् । घटस्थापनाको अवसर पारेर नेपालगञ्जका सर्वसाधारण, क्लब, टोल विकास समितिले आफूलाई पायक पर्ने ठाउँमा दुर्गा भवानीको मूर्ति प्रतिस्थापन गरेका छन् ।
यस्तै नेपालगञ्जको रामलीला मैदानमा हरेक वर्ष झैं यस वर्ष पनि रामलीला नाटकको मञ्चन शुरु भएको छ ।
नवरात्रिको सुरुवात भयो । अब हरेक बिहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्ति पीठहरूमा श्रद्धालुहरूको भीड हुन्छ । बिहान बिहान जमराको पूजा–पाठ गर्ने गर्नुपर्छ अनि दशमीका दिन चामल, रातो अबिर, दही, केरा मिश्रित अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजन हरूबाट प्राप्त आशिष सँगै जीवनमा खुसीयाली प्राप्त गरिन्छ ।
जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुरा चाहिँ परिवारको संख्या अनुसार निर्धारण गरिन्छ । संयुक्त परिवारहरूले निकै ठुलो ठाउँमा जमरा छर्ने गर्छन् भने परिवारका सदस्य संख्या कम भएको परिवारहरूले सानो ठाउँमा जमरा छर्ने कार्य गर्छन् । यसरी छरिने जमरालाई माटोको चतुर्भुज आकारको बिच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीका दिन भने आवश्यकता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ यही जमरा, टिका अनि सद्भावले दसैँको रौनकता बढाउँछ । प्रत्येक मुहारमा दसैँको आकर्षणको वास्तविक चित्र कोर्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here