२५ असोज, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले ३० जना नगर रक्षक भर्ना गरेको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सेवा निवृत्तहरुलाई नगर रक्षकका रुपमा भर्ना गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले टेण्डर आह्वान गरेर ठेक्का प्रक्रियामार्फत ३० जना नगर रक्षक भर्ना गरेको हो ।
न्यू बागेश्वरी सरसफाई एण्ड सेक्युरिटी सर्भिसेस प्रालिका सञ्चालक भानु भट्टले भर्ना भएका नगर रक्षक अधिकांश नेपाली सेनाका सेवा निवृत्त जवानहरु रहेको बताए।
यो संगै अब नेपालगञ्ज उपमहानगर पालिकाको नगर प्रहरी शाखामा ४१ जना जनशक्ति व्यवस्थापन भएको छ ।
यसअघि नेपालगञ्ज उपमहानगर पालिकामा प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा ११ जना नगर प्रहरी कार्यरत थिए । नयाँ भर्ना भएका नगर रक्षकलाई नगर प्रमुख प्रशान्त विष्टले बिहीवार निर्देशन दिएका छन् । आफूलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नगर प्रमुख विष्टले निर्देशन दिए ।
‘तपाईंहरु फुटपाथ, ठेला गाडा, निर्माण सामग्रीको व्यवस्थापनसंगै सहरलाई सफा, स्वच्छ र सुन्दर राख्न दत्तचित्त भएर लाग्नुस्, ठूल्ठूला चाडपर्व आउँदैछन्, यो बेलामा सहरमा हुने भिडभाडदेखि लिएर फोहर व्यवस्थापनको कामका बारेमा पनि तपाईंहरुको चासो र अनुगमन हुनुपर्दछ’, उनले निर्देशन दिँदै भने, ’आन्तरिक राजश्व बृद्धि गर्न पनि यहाँहरुको उल्लेखनीय भूमिका हुन्छ ।’ नगर प्रहरी प्रमुख बोगटीले आज शुक्रवारदेखि नगर रक्षकहरु फिल्डमा खटिने जानकारी दिए । उनले यो थप भएको जनशक्तिपछि अब काममा अझ सहजता थपिने विश्वास व्यक्त गरे । त्यसक्रममा नगर उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी लगायत उपस्थित थिए ।
यसैबीच नगर प्रमुख विष्टले बिहीवारदेखि लागू हुने गरी नगर प्रहरीलाई केही निर्देशन दिएका छन् । वडा नम्बर १ देखि २० सम्मका सम्पूर्ण फुटपाथ हटाउने, तोकेको ठाउँमा मात्र ठेला गाडा लगाउन दिने, उपमहानगरपालिकाभित्र मालबाहक सवारी साधनहरुलाई विहान ९ बजेसम्म तथा साँझ ६ बजेपछि मात्र लोड अनलोड गर्न दिने, चोक बजार भित्रका ठेला साँझ ५ बजेपछि मात्र लगाउन पाउने र बिहान ९ बजेभित्र खाली गरिसक्नुपर्ने, सडकपेटीमा राखेका घर निर्माणका सामग्री ३ दिनभित्र व्यवस्थापन गर्न लगाउने र निर्माण सामग्रीको प्रकृति हेरेर समय थपघट गर्न सक्ने (बढीमा ७ दिन), ट्रान्सपोर्ट, हार्डवेयर पसलहरुलाई बुग्गीको सम्पर्क नम्बर राख्न लगाउने र आवश्यक परेको समयमा बोलाउने तथा बाटोमा बुग्गी राख्न नदिने, त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म तथा गणेशमान चोकदेखि चारबाहिनी रोडसम्म वन–वे कायम गर्ने, गुलरिया बसपार्कमा बस व्यवस्थापन गर्ने लगायतका कार्यहरु कडाईका साथ लागू गर्न नगर प्रमुख विष्टले निर्देशन दिएका छन् । नगर प्रहरी प्रमुख बोगटीले थप भएको जनशक्तिलाई उचित परिचालन गरेर परिणाम देखिने गरी काम गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here