२२ चैत्र, नेपालगञ्ज । राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) बाँकेले दश हजार बढिको सहभागितामा जनसभा गर्ने भएको छ ।
यहि चैत २७ देखि २९ गतेसम्म बाँकेमा राष्ट्रिय युवा संघले नवौं महाधिवेशन गर्ने निर्णयगर्दै विभिन्न समिति, उप समिति गठन गरि तयारी शुरु गरेको छ ।
नेपालगञ्जमा हुन गईरहेको महाधिवेशनलाई भव्यतापूर्वक सफल बनाउन पार्टी पङ्ति पनि लागि परेको नेकपा एमाले केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकालले बताए । राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको जनपरिचालन समिति संयोजक समेत रहेका ढकालले महाधिवेशन उद्घाटन समारोहमा एमालेले बाँकेका ८१ वटै वडाबाट दशौं हजार जनता नेपालगञ्ज उतार्ने तयारी गरेको बताए ।
राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनलाई बाँकेमा अहिले पार्टीले सञ्चालन गरेको मिसन ग्रास रुट अभियानसँगै प्रचार प्रसार र तयारी भएको उनको भनाई छ ।
युवा संघका केन्द्रीय उपाध्यक्ष लुम्बिनी प्रदेश इन्चार्ज एवम् ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ सह संयोजक सुमन पुरीले नेपालगञ्जमा राष्ट्रिय महाधिवेशन भव्य रुपमा सफल पार्न युद्धस्तरमा तयारी भएको बताए । उनले प्रतिनिधि व्यवस्थापन, आवास तथा खाद्यान्न, यातायात जनपरिचालन समितिमार्फत महाधिवेशनको काम भईरहेको जानकारी दिए ।
महाधिवेशन आवास तथा खाद्यान्न समिति संयोजक एमाले बाँकेका युवा नेता रबिन्द्र लम्सालले देशभरीका दुईहजार प्रतिनिधि र अतिथिहरुको खाने बस्ने व्यवस्था गरिएको बताए । उनले नेपालगञ्ज र कोहलपुरका होटलमा प्रतिनिधिहरुलाई बासको व्यवस्था गरिएको जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here