१७ श्रावण, नेपालगञ्ज । घरको मूल ढोकामा नागको फोटो टाँसी नाग देवताको पूजा अर्चना गरि मंगलवार नागपञ्चमी पर्व मनाइएको छ ।
श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नाग देवताका लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ । वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् ।
यी सम्पूर्णको लागि यसै दिन पूजा अर्चना गरिन्छ । हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरूले अझै धनी बनाएका छन् । यस दिन सरीसृप अर्थात् घस्रेर जमिनमा हिँड्ने जनावरहरूको पूजा अर्चना पनि गर्ने गरिएको छ ।
नागपञ्चमीको दिन नागको फोटो मूल ढोकामा टाँसेर त्यसलाई पूजा गर्ने प्रचलन छ । यसो गर्दा नाग अर्थात् सर्पले दुःख दिंदैन भन्ने धार्मिक विश्वास छ । धार्मिक रूपमा हेर्दा नाग भगवान् विष्णुको शैया र भगवान् शिवको गहना पनि हो ।
पृथ्वीमा भएका सर्पले विषालु हावा र जीवहरूलाई खान्छ । जसले पर्यावरणीय चक्रलाई चलाइराख्न सहयोग गर्ने भएकाले हामीले सर्पलाई संरक्षण गर्नुपर्छ भन्ने अभिप्रायले पनि नागपञ्चमी मनाउन थालिएको धार्मिक विद्वान बताउँछन् ।
नागपञ्चमीको दिन नागको चित्रमा दूध, दही, अक्षता, फूल, चन्दन, दुबो राखी पूजा गरेर गाईको गोबरको सहायताले घरको ढोकामाथि अष्ट नागको चित्र टाँस्ने गरिन्छ । पहिले आफ्नै हातले नागको चित्र कोरेर वा पुरोहितबाट चित्र कोराएर नाग टाँस्ने गरिन्थ्यो । तर पछिल्लो समय भने छापिएको नाग नै बजारमा सर्वसुलभ उपलब्ध हुने भएकोले त्यसको प्रयोग नै बढी हुने गर्छ ।
यस दिनबाट उत्तरायण समाप्त भई दक्षिणायण सुरु हुने बताइन्छ । नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नाग गरी अष्टनागको चित्र टाँस्नाले घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको धार्मिक विद्वानको भनाई रहेको छ ।
नागपञ्चमीको दिनमा नै नागको उत्पत्ति भएको हुनाले लामो समयदेखि नागपञ्चमीको दिनमा नागको पूजा गर्ने प्रचलन सुरु भएको जानकारहरु बताउँछन् ।
नाग सर्प देख्ने बित्तिकै मार्ने चलन पछिल्लो समय हाम्रो समाजमा छ । तर नाग तथा सर्पलाई त्यसरी मार्नु हुँदैन । मानिसको जीवन चक्र चलाउन नाग र सर्पको ठूलो महत्व हुन्छ । हाम्रो पर्यावरण शुद्ध पार्न सर्पको भूमिका हुन्छ । हामीले लगाएको बालीनाली सपार्न पनि सर्पले ठूलो भूमिका निर्वाह गरेको हुन्छ । सर्पले मुसा र बाली नास गर्ने अन्य जीवलाई खाएर अन्नबालीलाई जोगाउँछ ।
नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पाइन्छ । परीक्षित नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्म जयले बुवाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरूलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसकालागि उनले महायज्ञ सुरु गर्दछन् जसमा सिद्ध ऋृषिमुनी, साधु र पण्डितहरूलाई आमन्त्रण गरे ।
उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरू त्यहीँ भस्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्म जयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्थिकाले जन्ममयसमक्ष माफीको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरूले त्यस पश्चात् यसै दिन पुनर्जीवन पाएका हुन् ।
यस दिन नाग देवताको पूजा अर्चना कालागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ । सामान्यतया अगाडि सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा यस दिन पूजा गरिन्छ ।
चिकित्सा प्रणालीमा पनि सर्पको धेरै महत्व छ । जस्तै, सर्पले टोकेको औषधि पनि सर्पको विषलाई प्रशोधन गरेर बनाइन्छ । मानसिक रोगका औषधि, उच्च रक्तचापको औषधि बनाउन पनि सर्पको विषको केही मात्रा प्रयोग गरिन्छ । त्यसैले विभिन्न रोग निवारण गर्न पनि सर्पको महत्व रहेको विद्वानहरुको भनाई रहेको छ ।