२६ माघ, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका स्तरीय अन्तर विद्यालय चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
नरैनापुर ६ जमुनीको खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सन्चालन हुनेछन् ।
प्रतियोगिताको बिहीवार उद्घाटन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए ।
खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने अध्यक्ष शाहको भनाइ थियो ।
अध्यक्ष शाहले नरैनापुर गाउँपालिकाले आफ्नो जिम्मेवारीलाई जनताका पक्षमा दृढ रुपमा काम गरेको महसुस गरेको र जिल्लाका अन्य स्थानीय तहले नरैनापुर गाउँपालिकाबाट विभिन्न कुराहरु सिक्नुपर्नेमा जोड दिए ।
नरैनापुर ६ का अध्यक्ष प्रेम मौर्यले खेलकुदले विद्यार्थीको क्षमता उजागर गर्नुका साथै शारीरिक मानिसक तथा सामाजिक विकासमा महत्वपुर्ण योगदान पुग्ने विश्वास ब्यक्त गरे ।
खेलका प्रशिक्षक जनक केसीलाई गाउँपालिकाका अध्यक्ष शाहले भलिबल हस्तान्तरण गरेर खेलको शुभारम्भ गरेका थिए भने विद्यार्थीहरुले मार्चपास मार्फत अध्यक्ष शाहलाई सलामी अर्पण गरेका थिए ।
नरैनापुर गाउँपालिकाको शिक्षा शाखा प्रमुख कृष्ण चौधरीको अध्यक्षतामा सुरु भएको खेलको प्रमुख अतिथि नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती श्रीवस्ताव, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं ४ का अध्यक्ष मनोज शर्मा, वडा ६ का अध्यक्ष प्रेम मौर्य, योजना शाखा प्रमुख प्रकाश अधिकारी, जिन्सी शाखा प्रमुख भरत महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यकहरु, बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको स्वागत जमुनी माध्यमिक विद्यालयका प्रधानाध्यक राजु मुकेरीले गरेका थिए । जमुनी खेल मैदानमा बिहीवारबाट सुरु भएको प्रतियोगितामा नरैनापुरका १० वटा विद्यालयहरूको सहभागिता रहेको नरैनापुर गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here