२० मंसिर, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले सोमबार एक कार्यक्रमका बिच पेट्रोल पम्पको उद्घाटन गरेका छन् ।
नरैनापुर गाउँपालिका वडा नं.५ मटेहियामा स्टार रिफ्युलिङ्ग सेन्टर सोमबारदेखि संचालनमा आएको छ । पेट्रोल पम्पको उद्घाटन गर्दै अध्यक्ष शाहले भने, ‘बाँकेको सबै भन्दा दुर्गम मानिएको नरैनापुरमा शिक्षा, स्वास्थ्य, सडक र बिजुलीको विस्तारसंगै इन्धन विक्रेताको समेत विकास र विस्तार भइरहेको छ । विक्रेताहरुको सुरक्षा सहितको वातावरणका लागि म प्रतिबद्ध छु ।’
पम्प सञ्चालनमा आएसंगै उपभोक्ताहरुलाई पेट्रोल र डिजेल लिन नेपालगञ्ज वा भारत जानु पर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष शाहले बताए ।
यस्तै पम्पका संचालक रिजवान अहमद खाँले पम्पमा डिजिटल प्रविधिको डिस्पेन्सिङ मेसिन जडान गरिएकोले उपभोक्ताले सवारीसाधनमा इन्धन भर्दा परिमाण, कुल मूल्य र प्रतिलिटर मूल्यबारे सहजै जानकारी पाउने बताए । हाल आयात भइरहेको युरो ६ मापदण्डको इन्धनमा प्रज्ज्वलनशील क्षमता बढी भएर पम्पहरूमा आगलागी हुन थालेपछि आफूहरुले निर्माण गरेको पम्पमा विशेष किसिमको ‘अर्थिङ’ जडान गरिएको जानकारी गराए ।
उनले भने, ‘स्पार्क भई तेल बोकेको ट्यांकर वा पम्पमा आगलागी हुने सम्भावना न्यून छ ।’ नरैनापुरमा निर्माण गरिएको पम्प बाँके जिल्ला कै अत्याधुनिक पम्प रहेको संचालक खाँले जानकारी गराए । पम्पको उद्घाटन कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं. २ का वडा अध्यक्ष मसूद अहमद शाह, वडा नं. ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य, कार्यपालिका सदस्य सन्तोष श्रीवास्तव, जिन्सी शाखा प्रमुख भरत महतो र माओबादी केन्द्रका नेता इमरान खान लगायतको सहभागिता रहेको थियो ।

यस्तै बाँकेको नरैनापुर गाउँपालिकाले पालिकमा रहेको सनराईज बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ ।
सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बैंकका म्यानेजर दिपक राज अधिकारीले जानकारी दिए ।
बैंक परिसरमा आयोजित कार्यक्रममा नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले स्थानीय ६८ बर्षिय इमामीन सार्ईलाई सनराईज बैंक मार्फत नगद रकम हस्तान्तरण गरेर सेवाको सुभारम्भ गरेका थिए ।
जनप्रतिनिधि र वडाका कर्मचारीमार्फत घरैमा बसेर भत्ता बुझ्दै आएका नरैनापुरका लक्षित वर्गका लाभग्राहीलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि बैंकसम्म पुग्न, बैंकिङ प्रणालीका कागजी प्रक्रिया मिलाउन र भत्ता बुझ्न सामान्य समस्या रहे पनि रकम हिनामिना हुनबाट जोगिएको नरैनापुर ४ का ७४ वर्षीय प्यारे अहिरले बताए ।
नरैनापुर गाउँपालिकाको दोस्रो कार्यकालका लागि नवनिर्वाचित पालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले अशक्त, अपांगता भएका नागरिक, जेष्ठ नागरिकले पाउने पैसामा अनियमितता भएको देखेपछि बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको बताए । हाल यस नरैनापुरमा सामाजिक सुरक्षा भत्ता लिने ३ हजार ३ सय ७७ जना छन् । भत्ता वितरण कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं ४ का अध्यक्ष मनोज शर्मा, कार्यपालिका सदस्य सन्तोष श्रीवस्ताव लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here