१ वैशाख, नेपालगञ्ज । विक्रम सम्वतको वर्ष २०७९ विदा भइ नयाँ वर्ष २०८० आजदेखि प्रारम्भ भएको छ ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।
आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।
विक्रमादित्यले चलाएको सम्वत भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ ।
विक्रम सम्वतका समग्र तिथि मितिहरू पृथ्वी र चन्द्र बिचको कोण अनि अवस्थितिमा फरक पर्दछन्, त्यसैले यसलाई चन्द्र मास भनिएको हो ।
चन्द्रमा र सूर्यबिचको देशान्तर कोणको १२ डिग्रीको वृद्धि हुने समय मापलाई तिथि भनिन्छ, सामान्यतया एउटा तिथि १९ देखि २६ घण्टासम्मको हुन्छ । पक्ष भन्नाले १५ वटा तिथिहरू हुन् र “कृष्ण र शुक्ल” पक्ष गरी दुई वटा पक्षहरू हुन्छन् । दुई वटा पक्षहरू मिलेर लगभग २९ दशमलव ५ तिथिको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछि कृष्ण पक्षको अँध्यारो निस्पट्ट समयसम्मको पक्ष एक मास हो । २ मासको एक ऋतु हुन्छ, ३ ऋतुको एक आयना हुन्छ अनि एक वर्ष भनेको २ आयना हो ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नति र प्रगतिको कामना गरेका छन् ।
नयाँ वर्ष आरम्भका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here