काठमाडौँ, चैत २७ गते । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ ।
नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ ।
विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ । नयाँ लाइसेन्सका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख ७२ हजार पुगेको थियो । फाराम भरेकाको परीक्षाको पालो दुई वर्षपछिसम्म परेको थियो । यी काम वैशाखसम्म सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ ।
विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार बाँकी रहेका डेढ लाखप्रति लाइसेन्स छाप्ने काम पनि भइरहेको छ । जेठपछि आवेदन दिएको एक हप्तामै ट्रायल दिने प्रणाली निर्माण गर्न लागिएको छ ।
घिमिरेले भन्नुभयो, “व्यवस्थित र छिटोछरितो सेवा प्रवाहका लागि तयारी गर्न हाललाई नयाँ आवेदन बन्द गरिएको हो । जेठसम्म हामीले बाँकी रहेका सबै काम सम्पन्न गर्दैछौँ, त्यसपछि निरन्तरको प्रक्रियामा जान्छौँ, असारदेखि आवेदन दिएको एक हप्तामै ट्रायल लिने तयारी गरेका छौँ ।”