२७ चैत्र, नेपालगञ्ज । रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा कर्णाली हाफ म्याराथन नयाँ बर्षको पहिलो महिनामा हुने भएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा २०८१ बैशाख २९ गते शनिबार हाफ म्याराथन हुने आयोजकले जनाएको छ ।
कर्णालीमा प्रदेशमा २०८१ मंसिर पहिलो साता हुने दशौं बृहत राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्ने हेतुले पनि हाफ म्याराथन आरम्भ गर्न लागिएको हो । उपयुक्त मिति तय गरेर हरेक बर्ष बिस्तार गर्दै यसलाई बृहत बनाउँदै लैजाने तयारी छ । कर्णाली हाफ म्याराथनमा २१.०९७५ किमी पुरुष तथा महिला, ५ किलोमिटर स्कुल स्तरीय छात्र एवं छात्रा दौड, ५ किलोमिटर ह्वीलचेयर, ५ किलोमिटर कर्पोरेट रन र ४२१.९५ मिटर किड्स रन समावेश गरिएको छ ।
म्याराथनका क्रममा खेलकुदसँग शिक्षा, स्वास्थ्य र पर्यटनको सम्बन्धका बिषयमा बहस छलफल समेत गरिनेछ ।
विगत नौ बर्षदेखि नेपालगन्ज म्याराथन आयोजना एवं व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले दौड संस्कृतिको प्रवद्र्धन गर्दै प्रतिभाशाली खेलाडी खोज अभियान अन्तर्गत कर्णाली हाफ म्याराथन गर्न लागेको हो । धारा नेपालगन्ज म्याराथनले आफ्नो यात्राको एक दशक पूरा हुने पुर्व सन्ध्यामा दौडसम्बन्धि विविध नयाँ सोंच र कार्यक्रम तयारी गरेको छ । आफ्नो भगिनी दौड प्रतियोगिताका रुपमा विभिन्न दूरीका अलगअलग दौड प्रतियोगिता सुरुवात गर्ने क्रममा कर्णाली हाफ म्याराथन हुन लागेको बताइएको छ । यसलाई क्रमशः अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियामा अघि बढाउने र कर्णाली म्याराथनलाई विश्व म्याराथनको छातामुनि लैजाने पनि रेस नेपालले तयारी गरेको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदसँगको आर्थिक सहयोग साझेदारी तथा अन्य स्थानीय पालिका एवं नीजि क्षेत्रको सहयोगमा कर्णाली हाफ म्याराथन हुन लागेको हो । यसको रुट तथा नगद पुरस्कारका सम्बन्धमा चाँडै जानकारी गराइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here