१५ फागुन, नेपालगञ्ज । नेपालगञ्जमा सञ्चालित पुनःस्थापना केन्द्रहरुको अनुगमन गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले नगरमा सञ्चालित पाँच वटा पुनःस्थापना गृहहरुको अनुगमन गरेको हो ।
साथी संस्थाको पुनःस्थापना गृह, साना हातहरु नेपालको पुनःस्थापना गृह, शान्ति पुनःस्थापना गृह, माइती नेपालको पुनःस्थापना गृह र शक्ति समूहको पुनःस्थापना गृहको अनुगमन गरिएको छ ।
नगर उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर २० का वडा अध्यक्ष कौशल धोवी, अनुगमन कार्यदल संयोजक महिला विकास अधिकृत पवित्रा पुरी तथा सदस्यद्वय निवर्तमान उपप्रमुख उमा थापा मगर र प्रेस सल्लाहकार नवीन गिरी अनुगमनमा पुगेका थिए ।
नेपालगञ्ज उपमहानगरपालिका भारतसंग सीमा जोडिएको पालिका भएकाले सीमा नाकामा मानव बेचविखन प्रेरित क्रियाकलाप, महिला तथा बालबालिका ओसारपसार, जाखिमपूर्ण यात्रा गरि रहेकाहरुको चाप बढी देखिने गरेको छ ।
शंकास्पद गतिविधि र क्रियाकलाप देखिएकाहरुलाई आवश्यक सोधपुछ र खोजनीति गरेर शंकास्पद व्यक्तिहरु र पीडितहरुलाई अल्पकालीन आश्रम दिन पुनःस्थापना गृह सञ्चालनमा छन् ।
पुनःस्थापना गृहहरुले पीडितहरुलाई कानुनी उपचारमा सहयोग संगसंगै समाजमा पुनःस्थापना गर्न उल्लेख्य भूमिका खेल्दै आएका छन् ।
नेपालगञ्जमा जमुनाहा, खडैंचा, शिवपुुरी लगायतका नाकाहरुबाट पीडितहरुको उद्धार र शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिने गरिएको छ ।
अनुगमनका क्रममा पुनःस्थापना गृहहरुको संस्थागत अवस्था, भौतिक पूर्वाधार, सञ्चालन कार्यविधि लगायत विद्यमान समस्याहरुबारे जानकारी लिइएको थियो । पुनःस्थापना गृहहरु सीमित स्रोत साधनका बाबजुद पनि व्यवस्थित ढंगले सञ्चालन भइरहेको पाइएको कार्यदल संयोजक पुरीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here