२० भाद्र, नेपालगन्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले अब विकासको राजनीति गर्नुपर्ने बेला भएको बताएका छन् ।
राजनीतिको नाममा धर्म र साम्प्रदायिकता भड्काउन उद्धत राजनीतिक दल तथा नेताहरूलाई उनले जनताको मन जित्नका लागि विकास र समृद्धिको राजनीति गर्न सुझाव दिएका हुन् ।
गृह जिल्ला बाँकेको डुडुवामा विभिन्न पुलहरूको शिलान्यास गर्दै उनले भने, ‘अब धर्म र साम्प्रदायिकताको राजनीति छोड्नुस् । सक्नुहुन्छ भने विकास र समृद्धिको राजनीति गर्नुस् र जनताको मन जित्नुस् ।’
चुनावका बेला आम नागरिकलाई भ्रममा पार्न र साम्प्रदायिकता भड्काउने गतिविधिहरू बढेको भन्दा त्यस्ता क्रियाकलाप गर्नेहरूबाट सचेत हुन पनि उनले आग्रह गरे ।
‘यो क्षेत्रबाट धेरैले राजनीति गरे । धेरै नेता भए । सांसद भए । मन्त्रीहरू पनि भए । मन्त्रीमात्रै होइन यही बाँके जिल्लाबाटै राजनीति गर्नेहरू प्रधानमन्त्री पनि भए’ उनले भने ‘तर बाँकेवासीले विकास कहिल्यै पाउन सकेनन् । प्रधानमन्त्री भएको जिल्ला पनि विकासमा सधै पछि नै रह्यो ।’
उनले जिल्लामा विकासका अझै तमाम कामहरू अधुरा रहेका र तीनलाई पूरा गर्नका लागि आफू फेरि एकपटक चुनावमा होमिने पनि बताए ।तर त्यसबाट अत्तालिएकाहरूले आफूविरूद्ध भ्रम छर्न धर्म र साम्प्रदायिकता भड्काउन खोजेको भन्दै उनले मिलेर बसेको समाजलाई भत्काउने कोसिस नगर्न पनि चेतावनी दिए ।
‘यो सबै समुदाय, सबै जातजाति र धर्म अनि सप्रदाय मिलेर बसेको समाज हो’ उनले भने ‘यसलाई बिथोल्ने प्रयास नगर्दा हुन्छ। धर्म र समुदाय बिथोलेर अब राजनीति चल्दैन । राजनीति गर्ने भए आउनुस् विकासका काममा प्रतिष्पर्धा गरौं। अब विकास र समृद्धिको राजनीति गरौं।’
सोमबार मन्त्री राईले एकैदिन डुडुवा गाउँपालिकाका विभिन्न गाउँहरू जोड्ने ४ वटा पक्की पुलहरूको शिलान्यास गरेका थिए ।
उनले डडुवाको टपरीदेखि चौफेरी जोड्ने ९० मिटर, नौरीगौडीदेखि कैरातीपर्वा जोड्ने ५० मिटर, राजारामपुरवादेखि हल्कारापुर्वा जोड्ने ४५ मिटर र डुडुवा ४ मोल्हुपुरवाको अमराहवादेखि लडिहाघाट जोड्ने ४५ मिटर लामो पक्की पुलहरूको शिलान्यास गरेका हुन् ।
डिजाइन एण्ड बिल्ड प्रक्रियाबाट बन्ने यी आधुनिक पक्की पुलहरू आगामी तीन वर्षमा निर्माण भइसक्नेछन् ।
सरकारले पुल निर्माणका बेला ठेकेदारहरू अलपत्र छोडेर भाग्ने, मर्मतको जिम्मेवारी नलिनेजस्ता समस्याहरू बढ्न थालेपछि नयाँ प्रक्रिया थालेको हो । डिजाइन एण्ड बिल्ड प्रक्रिया भनेको पुलको डिजाइन गर्ने जिम्मेवारी पनि सम्बन्धित ठेकेदारकै हुन्छ । र निर्माण पनि उसैले नै गर्नुपर्ने हुन्छ ।
पुलहरूको शिलान्यास समारोहमा उनले छोटो समयमा पनि सरकारले देशभरि पुल र सडक निर्माणको कामलाई प्राथमिकता दिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here