२२ गतेदेखि ओपिडी सेवा बन्द गरिने
१८ मसिंर, नेपालगञ्ज । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहुँदा सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु आन्दोलित भएका छन् । स्थानीय तहको निर्वाचनपछि नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेट पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ सेवा नै ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोसित बनेका छन ।
गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गत कार्यरत सम्पुर्ण कर्मचारीहरुले तत्काल तलब भत्ताको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । आइतवार एक कार्यक्रमका विच कर्मचारीको तर्फबाट स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा गाउँसभा सदस्य सचिव कृष्णप्रसाद पौडेललाई चरणबद्ध दबाबका कार्यक्रमसंगै ज्ञापन पत्र बुझाउनुभयो ।
तलब भत्ताको व्यवस्था नभएपछि उनीहरुले यही मसिंर २२ गतेदेखि २३ गतेसम्म आकस्मिक सेवा बाहेक अन्य सेवा ओपिडी बन्द गर्ने र मसिंर २४ गतेदेखि आकस्मिक सेवा बाहेक पूर्ण रुपमा स्वास्थ्य सस्था वन्द गरि गाउँपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम ज्ञापनपत्रमा उल्लेख गरेका छन् । करिब ८४ जना स्वास्थ्यकर्मीहरुद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्र बुझ्दै सदस्य सचिव पौडेलले गाउँसभा संचालन नभएर सेवा सुविधा ठप्प भएको स्वीकारदै सम्पूर्ण कर्मचारीहरुको काम गरेवापतको सुविधा पाउने अधिकार रहेको भन्दै यो विषयमा जनप्रतिनिधिहरुले गम्भीरताका साथ लिनुपर्नेमा जोड दिदै यो विषयलाई गाउँसभा अध्यक्षमार्फत पेश गर्ने बताउनुभयो ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कुनैपनि कर्मचारीले खान पाएका छैनन्, भने अन्य सबै विषयगत सेवाहरु समेत प्रभावित भएको छ । अहिले स्वास्थ्य चौकीमा सिटामोल औषधी छैन भने ल्याब, लगायतका स्वास्थ्य सेवा, पशु सेवा प्रभावित भएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनुभयो ।
कर्मचारीहरुले तलब नपाउँदा उनीहरुको दैनिक खर्च, घरभाडा, छोराछोरीलाई पढाउन र घरको ऋृण बुझाउन नसक्दा ठुलो समस्या भएको कर्मचारी हेमन्त शर्माले बताउनुभयो । कर्मचारीहरुले पारिश्रमिक नपाएपछि विकल्पमा आन्दोलनको कार्यक्रम रोजेका छन् । केही दिन अघि शिक्षकहरुको समुहले ध्यानाकर्षण गराएको छ । नेपाल शिक्षक महासंघ बाँकेले शिक्षक तथा विद्यालय कर्मचारीहरुको तलव भत्ता तथा छात्रवृत्ति, दिवाखाजा जस्ता नियमित वजेट विद्यालयमा २०७९ श्रावण महिनादेखि निकासा नभएको र सो को कारण शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलव नपाएको र विद्यालयका दैनिक कामकाजहरुमा अत्यन्तै कठिन स्थिति सिर्जना भएकोले सोको पहलका लागि आग्रह गरिएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरुले अवरोध गरेका कारणले गाउँसभा हुन नसकेको भन्दै उहाँले भन्नुभयो “विपक्षीहरुले गाउँपालिकालाई बन्धक बनाएका छन्, निकास नदिंदा अहिले उपचार नपाएर पशुपन्छी मरिरहेका छन्, स्वास्थ्य चौकीमा सिटामोल औषधी छैन, कर्मचारीले तलब भत्ता पाएका छैनन्, ज्येष्ठ नागरिकले भत्ता पाएका छैनन् यसको जिम्मेवारी कसले लिने ।” जनताका सेवा गर्ने प्रतिबद्धताका साथ निर्वाचित जनप्रतिनिधिहरु अहिले आएर बहुमतको दम्भ देखाएर गाउँसभा नै गर्न नदिएको यो कहाँसम्मको नैतिकता भएको उहाँले प्रश्न गनुभयो । अध्यक्ष चौधरीले आफु अनुकुल र कानून विपरितको निर्णय गर्न लगाउने कार्य गलत भएकोले र जनताको विपक्षमा गएर कहिले पनि गलत निर्णय नलिने स्पष्ट पार्नुभयो ।
समयमा गाउँसभा नभएर संघिय र प्रदेशसरकारबाट प्राप्त सशर्त, विशेष अनुदान र समपुरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि फ्रिज हुने सम्भावना समेत बढेको छ । यस्तै विकास निमार्णसंगै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन् तथा ढुवानीको टेन्डरप्रक्रिया समेत अवरुद्ध हुँदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ । गाउँसभाको विषयमा पालिकाले ४ पटक कार्यपालिकाको बैठक र गाउँसभा डाके पनि केही बैठकमा अनुपस्थित र केहीमा उपस्थित भएर छलफल प्रक्रियामै सहभागी नभएकाले सभा अन्यौलमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here