२५ जेठ, नेपालगन्ज । डुडुवा गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँके शाखामा सभा कक्ष निर्माण गर्ने भएको भएको छ । कार्यालयमा सभा हलको आवश्यकता महसुस गरेर बाँके शाखाले गरेको प्रस्ताव अनुसार गाउँपालिकाले सभा हल निर्माण गरिदिने भएको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले नेपालगञ्ज–४ सञ्चारग्राम (बसपार्क) स्थित महासंघको कार्यालय भवनको प्राविधिकसहित निरीक्षण गरेका छन् । उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेय, इन्जिनियर सुरेन्द्र बर्मासहित महासंघ कार्यालय पुगेका अध्यक्ष चौधरीले महासंघको प्रस्ताव अनुसार सभा कक्ष निर्माण गरिने बताए ।
उनले भवन निमार्णको बजेटसहितको स्टिमेट गरेर तत्काल काम सुरु गरिने बताए । अध्यक्ष चौधरीले महासंघ भनेको जिल्लाका सम्पुर्ण पत्रकारहरुको साझा घर भएकाले बैठक, छलफल लगायतका कार्यक्रम गर्न सहजताका लागि भवन (सभा कक्ष) निर्माण गर्न लागेको बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले महासंघको प्रस्तावलाई स्वीकार गरेर डुडुवा गाउँपालिकाले सभा हल निर्माणमा सहयोग गर्ने भएपछि आफूहरु उत्साहित भएको बताए । गिरीले उक्त सभाहलको नाम ‘डुडुवा सभा हल’ राखिने बताए । आफ्नो नेतृत्वमा महासंघमा नयाँ टिम आएपछि डुडुवा गाउँपालिकाले निरन्तर सहयोग गरिरहेको भन्दै गिरीले स्थानीय सरकारसंगको विश्वास र सहकार्यलाई यसले मजबुत बनाउने बताए ।
डुडुवा गाउँपालिकाले यसअघि महासंघ बाँके शाखाले गत फागुनमा आयोजना गरेको सद्भाव वनभोज कार्यक्रममा पनि सहयोग गरेको थियो ।
निरीक्षणका क्रममा अध्यक्ष चौधरीले नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमितिसंग छलफल पनि गरेका थिए । त्यसक्रममा शाखा अध्यक्ष गिरीले अध्यक्ष चौधरी, उपाध्यक्ष बानो र प्रमुख प्रशासकीय अधिकृतलाई महासंघले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो पनि प्रदान गरेका थिए ।







