२० फागुन, नेपालगञ्ज । बाँके डुडुवा गाउँपालिकामा शुक्रबारदेखि दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता शुरु भएको छ । डुडुवा गाउँपालिकाको समन्वयमा शहिद स्मारक माबिको प्रांगणमा कम्दी जुडो डोजो क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो ।
शुक्रबार एक कार्यक्रमका विच प्रतियोगिताको उद्घाटन गर्दै डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले खेल क्षेत्रले सकारात्मक प्रतिस्पर्धाको भावना जागृत गर्ने भएकाले यसतर्फ आकर्षण बढाउनुपर्नेमा जोड दिए । उनले खेलकुदमार्फत देशलाई बिश्वमै चिनाएको र यसले देशको प्रतिष्ठा बनाउन मद्दत पु¥याउने भएकाले स्थानीय तहले यस्ता गतिबिधिका लागि गम्भीर रहेको बताए ।
उद्घाटन कार्यक्रममा वडा नं. ५ का अध्यक्ष झंक बहादुर थापा, वडा नं. ४ का वडा अध्यक्ष सगिर खाँ, इलाका प्रहरी कार्यालय कम्दीका प्रमुख बिष्णु शाही, जुडोका संस्थापक नोम बहादुर थापा लगायतको उपस्थिति रहेको थियो । लुम्बिनी प्रदेशका चार जिल्लाका खेलाडीहरुको सहभागिता रहेको कम्दी जुडो डोजोका अध्यक्ष एव प्रशिक्षक पदम बहादुर बुढाथोकीले बताए ।
प्रतियोगितामा महिला पुरुषतर्फ ६–६ बिद्यामा प्रतिस्पर्धा हुँदैछ । शनिबार समापन हुने प्रतियोगितामा महिलातर्फ ४०, ४४, ४८, ५२, ५७ केजी र खुल्ला तौल समूह तथा पुरुषतर्फ ४०, ४५, ५०, ५५, ६० केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने अध्यक्ष बुढाथोकीले जानकारी दिए । लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दांङ, कपिलबस्तु र बाँकेको खजुरा, नेपालगञ्जका बिभिन्न स्थानमा रहेका एक सय ३० जना खेलाडीहरुको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here