२३ माघ, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीतिलाई कार्यान्वयनमा ल्याएको छ ।
पालिकाले यस वर्ष शिक्षाको गुणस्तरियतासंगै विकासका लागि राणनीति अनुसारको कार्ययोजना अघि सारेको जनाएको छ ।
पालिका अन्तर्गतका विद्यालयहरुको गुणस्तरियता, शिक्षकको निगरानी, विद्यार्थीको सहभागिता, अभिभावकको भुमिकालाई प्रभावकारी बनाउने उद्देश्यले कार्य गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार अहिले पहिलो चरणमा पालिका अन्तर्गत रहेका ७ वटा विद्यालयमा सिसि क्यामरामार्फत निगरानी गरिएको छ ।
यसले विद्यालय समयमा खुल्ने र बन्द हुने, शिक्षक र विद्यार्थी आउने समय, कक्षा कोठामा अध्यायपन, सुरक्षालगायत विषयको निगरानी सुरु गरिएको अध्यक्ष चौधरीले बताए ।
पालिकाले विद्यालयमा नैतिक तथा संस्कारको कक्षा समेत सुरु गर्ने योजना बनाएको छ । आगामी शैक्षिक सत्रबाट संस्कारिक कक्षा सुरु गर्ने पालिका अध्यक्ष चौधरीले बताए । त्यसका लागि स्थानीय पाठ्यक्रम निमार्णको काम सुरु गरिएको छ । अहिले समिति निमार्ण गरि कार्य प्रारम्भ भएको छ ।
डुडुवाले छात्रा विद्यालय संचालन गर्न लागेको छ । डुडुवा २ को बेतहनीमा यस वर्षदेखि कक्षा १ को स्वीकृति पाएकाले अब पढाई सुरु गरिने छ । विद्यालय संचालन गर्नका लागि अहिले भौतिक संरचना निमार्णको कार्य भईरहेको छ । मधेशी तथा मुस्लिम समुदायका अभिभावकले आफ्ना बालिकाहरुलाई प्राय विद्यालय नपठाउने गर्नाले छात्राहरुको छुट्टै विद्यालय संचालन गर्ने योजना अनुरुप छात्रा विद्यालय सञ्चालन गर्न लागेको पालिका अध्यक्ष चौधरीले बताए ।
डुडुवा गाउँपलिकाले शैक्षिक गुणस्तर मापनका लागि अहिले शिक्षण सहजीकरण सुरु गरेको छ । सुरुमा माध्यमिक विद्यालयमा गएर शिक्षकले पढाएको कक्षाको अवलोकनको कार्य भईरहेको शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताए ।
कक्षा अवलोकन पश्चात विशेष गरि शिक्षकले विद्यार्थीहरुलाई आधारभुत सामान्य जानकारी नगराएको, शिक्षकले विषयगत ज्ञानको बारेमा पढाएपनि बालबालिकाको सिकाइमा कमी लगायतका समस्या देखिएको शाखा प्रमुख कर्णले बताए ।
विद्यालयको अवलोकन तथा अनुगमन पश्चात समग्र अवस्थाको बारेमा सुधार गर्न विशेष पहल गरिनेछ । डुडुवामा माध्यमिक विद्यालय ७ वटा, आधारभुत विद्यालय ९ वटा, मदरसा १८ वटा, गुरुकुल १ वटा र ७५ वटा बालविकास केन्द्रहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here