९ भाद्र, नेपालगञ्ज । स्वास्थ्य सेवा प्रभावकारी बनाउन डुडुवा गाउँपालिकाले दोस्रो चरणको घर घरमा स्वास्थ्य सेवा अभियान शुरु गरेको छ ।
गाउँपालिकाका सम्पुर्ण नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने रणनिति अनुरुप २०७४ सालमा संचालित अभियान कोभिड–१९ का कारणले केही वर्ष प्रभावित भएपछि अहिले पुनः दोस्रो चरणको अभियानको शुरुवात गरिएको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुरुको वर्षदेखि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर शुरु गरेको अभियानलाई अब अझै प्रभावकारी बनाउन दोस्रो चरणको अभियान शुरु गरेको बताए । सो अभियानको शनिवार एक कार्यक्रमका विच शुभारम्भ गर्दै अध्यक्ष चौधरीले पालिकाका कुनैपनि नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्नका लागि जनताका घरदैलोमै स्वास्थ्यकर्मी पुगेर उपचार सेवा उपलब्ध गराएको बताए ।
उनले घर घरमा स्वास्थ्य सेवासंग ज्येष्ठ नागरिकको उपचारलाई पनि प्रभावकारी बनाइएको भन्दै अब स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन निःशुल्क प्रयोगशाला र अस्पतालको व्यवस्थापन गर्ने बताए ।
गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडासम्म ६ वटा टोलीमार्फत २४ जना स्वास्थ्यकर्मीलगायतको टोली परिचालन गरिएको छ । टोलीले प्रत्येक घरमा पुगेर हरेक व्यक्तिलाई स्वास्थ्य कार्ड वितरण गरिरहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताए । उनका अनुसार स्वास्थ्य कार्ड वितरणसंगै हरेक नागरिकको स्वास्थ्य परिक्षण तथा दिर्घरोगीहरुको बारेमा जानकारी लिनेछ ।
डुडुवाको जनसंख्या ४४ हजार १ सय ४४ जना व्यक्तिको स्वास्थ्य कार्ड वितरण गर्ने योजना रहेको छ । टोलीले कृषि, पशु र पञ्जीकरणसम्वन्धी सूचना संकलन, अभिलेखीकरण र आवश्यक जानकारी समेत लिइरहेको छ ।
पालिकाले यसवर्षदेखि चारवर्षे विशेष रणनितिका साथ काम गर्न शुरु गरेको पालिका अध्यक्ष चौधरीले बताए । उनका अनुसार पालिकाले शुरुको वर्षदेखि विशेष योजनाका साथ शुरु गरेको कार्यलाई अब प्रभावकारी बनाइ अन्तिम रुप दिइनेछ । सो अभियानको गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँले वडा अन्तर्गत विभिन्न स्थानबाट शुरुवात गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here