१६ भाद्र, नेपालगञ्ज । सिँचाईको अभावमा खडेरी परेको नरैनापुरका कृषकहरुलाई डिप बोरिङ र राहत उपलब्ध गराउन माग गर्दै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बिहिबार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई पत्र हस्तान्तरण गर्नु भएको छ ।
नरैनापुर गाउँपालिकाको सर्वदलिय बैठकले कृषकहरुलाई राहत दिन प्रदेश र संघीय सरकार संग माग गर्ने निर्णय गरे पछि गाउँपालिकाले उक्त निर्णयलाई माग पत्रसंगै राखेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको नरैनापुरका प्रमुख प्रशाकिय अधिकृत भरत बस्नेतले जानकारी दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी खत्रीलाई पत्र हस्तान्तरण गर्दै अध्यक्ष शाहले भन्नुभयो, “गत वर्षको बेमौसमी बर्षाका कारण खेतमा कृषकले लगाएको धानबाली नष्ट भएको पिडा सेलाउन नपाउदै यस वर्ष समयमा वर्षात नहुँदा धानको बिउ खेतमा नै सुकेर नष्ट भएको बताउनु भयो ।” गाउँपालिकामा सिचाइको व्यवस्था नहुँदा ९० प्रतिशत खेत बाँझो नै देखिएको छ । नरैनापुरका ९० प्रतिशत खेत बाँझो भएपछि पालिकालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरिएको बताउनु भयो ।
नरैनापुरका कृषकलाई राहत दिन माग गर्दै गाउँपालिका अध्यक्ष शाहसंगै नेकपा माओबादी केन्द्रकी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य कष्ण केसी “नमूना” पनि जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो । उहाँले गृह र कृषि मन्त्रालयलाई राहतको व्यवस्थापनका लागि पत्राचार गरीदिन प्रमुख जिल्ला अधिकारीसंग आग्रह गर्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले आईतबार विपत व्यवस्थापन समितिको बैठकबाट निर्णय गराएर राहतका लागि केन्द्र सरकारलाई पत्राचार गर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी खत्रीले पानी नभएर आकाशको भरमा खेति गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि आफूले पहल थाल्ने जिकिर गर्नु भएको थियो ।
यता नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरे पछि राहतका लागि प्रदेश र संघीय सरकारका भौतिक पूर्वधार तथा यातायात मन्त्री, यूवा तथा खेलकुद मन्त्री र अर्थ मन्त्रीलाई जानकारी गराए पनि कुनै ठोस निर्णय हुन नसके पछि अर्थ मन्त्रीको सुझावमा प्रमुख जिल्ला अधिकारीलाई राहतका लागि पहल गरीदिन पत्र दिएको गाउँपालिका अध्यक्ष शाहको भनाई थियो ।