१४ भाद्र, नेपालगञ्ज । सनातन धर्मावलम्बीहरुको महान पर्व जनै पूर्णिमा ‘रक्षा बन्धन’ आज देशभर मनाइँदै छ ।
’सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा सुत्र तैयार गरी बलशाली दानवराज बलिलाई बाँधे, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षा बन्धनको परम्परा अहिले सम्म पनि प्रचलित छ ।
यस्तै तराई मधेशका दिदीबहिनीले दाजुभाइलाई राखी बा“धेर रक्षाबन्धन पर्व मनाउँछन् । दिदी–बहिनीले आफ्ना दाजु–भाईलाई नाडीमा राखी बाँधेर दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दछन् भने दाजु–भाईले दिदी–बहिनीको आजीवन सुरक्षा गर्ने वचन दिन्छन् ।
ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु–पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।
यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुई वटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
रक्षा बन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाईलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रही आएको हो ।
कतिपयले आफै गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षा बन्धन बाँध्ने गर्दछन् ।
यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजु–भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढी रहेको छ ।
रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, “रक्षा“ र “बन्धन“। संस्कृत शब्दावलीको अनुसार यसको अर्थ “सुरक्षाको गाँठो“ हुन्छ। यो चाड दाजुभाइ–दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो । यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ । यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ । त्यसै गरि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् र आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन् ।
विशेषतः ब्राह्मण, क्षेत्रीय या अन्य कुनै वैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग हातमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ ।
यस दिन स्नान गरी सप्त ऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तर्ने त्यसलाई धारण गर्ने प्रचलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्त ऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।
सनातन धर्मका अनुयायीहरू सबैका पुर्खाहरू ऋषिहरु भएको र यही अनुरूप सबैको गोत्र पनि तिनै ऋषिहरुको नाम अनुरूप तय गरिएको छ । यस अर्थमा आजका दिन दिइएको तर्पण हाम्रा अनन्य पुर्खाहरूको सम्झना र आफ्नो कुल परम्परा अनि संस्कारको समानार्थक दिइएको हो ।
यसबीच तिथिको घटबढका कारण गाईजात्रा पर्व पनि आजै परेको छ ।
गाईजात्राको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृत आत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रही आएको छ ।
गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ ।
विभिन्न मुखुण्डो र रङ्गीचङ्गी पोसाक लगाएका मान्छेहरू बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा बितेका आफन्तजनको तस्बिर सहित जात्रामा समावेश हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here