१५ श्रावण, नेपालगञ्ज । घर–घरमा खीर र मिष्ठान्न खाएर आइतवार साउन १५ खीर खाने पर्व मनाइएको छ ।
परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा रहि आएको छ ।
वर्ष दिनभरिमा कहिले जौको सातु र सर्बत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसको साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलो छ ।
हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ ।
नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेशामा आश्रित भएकोले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्पराको विकास हुँदै गएको छ ।
साउन महिना वर्षात समय भयकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको पोषिलो खीर खाने गरिन्छ ।
खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ ।
बर्षाको समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बच्न खीर खाने गरेको पाइन्छ ।
नेपालमा मात्रै होइन भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ ।
साउन महिनाको सुरुवातमा मासु भन्दा पहिले दूधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोग प्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ ।
यसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ ।
खीरसँगै मौसमी फलफूल र मसला पनि खाने गरिन्छ ।
सनातन वैदिक सभ्यता अनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ ।
पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन रहेको छ ।
दूध, घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि समेत खीर खाने चलन रहेको जानकारहरु बताउँछन् ।