६ फागुन, नेपालगन्ज । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार पर्व आज हर्षाेल्लासका साथ मनाइँदै छ ।
ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ ।
मुसाबाट सुरु हुने वर्षहरू बँदेल वर्षमा पुगेर सकिन्छ ।
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समुदायले ल्होसार सुरु हुनु एक महिना अघि नै आ–आफ्नो घर रंगाउने, फोहोरहरू फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन् । उनीहरूले सम्बोटा लिपिलाई सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकु भन्ने वाक्यांश र अष्ट मंगलका चिन्हहरूले घर सजाउने गर्दछन् ।
तिन प्रकारका ल्होसारहरू मध्य हिमाली समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ, तथापि यस ल्होसारमा अन्य समुदायहरूको पनि उत्कृष्ट समभाव अनि सक्रियता पाइन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे अनि मनाङै लगायत अन्य धेरै समुदायको यो एउटा साझा ल्होसार हो । ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ, तर दुवैको अर्थ भने एकै हो । आज नयाँ लुगा लगाउने र पानीका मुहानहरूमा गएर नाग देवताको पूजा गर्ने गरिन्छ ।
पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवताकलाई चढाउने गरिन्छ । साथै यस अवसरमा मिठो मसिना खानेकुराहरू खाई नाचगान गर्दै रमाइलो गरिन्छ । यो चाड नेपाल सहित चीन, मंगोलिया, बर्मा सिक्किम, भुटान लगायतका देशमा पनि मनाइन्छ ।
ग्याल्पो ल्होसार राष्ट्रिय पर्व भएकाले आज सरकारले सार्वजनिक बिदा दिएको छ ।








