नेपालगञ्ज, फागुन ४ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा युवा महिलाहरुको रोजगारी प्रवद्र्धनकालागि स्थानीय अवसर, संभावना तथा आगामी प्राथमिकता विषयमा एकदिने संवाद कार्यक्रमको आयोजना गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवाद कार्यक्रम आयोजना गरिएको हो । सो संवाद कार्यक्रममा स्थानीय तहमा रोजगारी सृजना गर्नका लागि स्थानीय सरकारका प्रतिनिधि, अभिभावक र परियोजना सहभागिहरुविच गहन छलफल तथा विचारविमर्श गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । कार्यक्रमको अध्यक्षता गर्दै गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतमले युवा महिलाहरुको रोजगारी प्रवर्धनका लागि नगरपालिकाले विभिन्न योजना बनाउने तथा उनिहरुलाई पनि समान अवसर प्रदान गरिने बताउनुभयो । उहाँले महिलाको आर्थिक शसक्तीकरणका लागि नगरपालिकाले हर प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । संवाद कार्यक्रममा नगरपालिकाको उद्यम विकास शाखा प्रमुख थिरनाथ कँडेलले नगरपालिकाबाट सञ्चालन हुने आयआर्जन सम्बन्धि कार्यक्रमलाई सहकारीसंग लिंक गराएर महिलालाई अवसर प्रदान गरिने बताउनुभयो । महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले लघुकर्जामा आम महिलाको पहुँच पुरयाउनका लागि समन्वय र सहयोग गरिने बताउनुभयो । उद्योग बाणिज्य संघ बर्दियाका वरिष्ठ उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठले आयआर्जन र रोजगारमुलक कार्यक्रम सञ्चालनमा उद्योग वाणिज्य संघको पुर्ण सहयोग र समर्थन रहने बताउनुभयो । सो कार्यक्रममा वडा अध्यक्षहरु प्रकाश चौधरी, जोगिराम थारु, सुरेश गौतम, विष्णु यादव, रतन ठकुरानी, सुधान्सु प्रकाश शर्मा, नगरपालिकाका रोजगार सहायक अमृत बोहोरा लगायत विभिन्न शिप तालिम लिईरहेका तालिमका सहभागि र अभिभावक गरेर ४० जनाको सहभागिता रहेको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताउनुभयो । सो संवाद कार्यक्रमको सहजीकरण सहजकर्ता मुकुन्द अर्यालले गर्नु भएको थियो । यसअघि सोही प्रकारको संवाद कार्यक्रम बर्दियाको ठाकुरबाबा नगरपालिकामा पनि आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here