नेपालगन्जः चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप भेरोसेल मंगलबारदेखि दिइँदैछ । नेपालगन्जमा भने भोलिदेखि खोप दिन लागिएको हो ।

केही स्थानमा ६० देखि ६४ वर्षसम्मका र केही जिल्लामा १८ तथा ५५ वर्षमाथिका लागि पनि सो खोप दिन लागिएको हो । चीनबाट अनुदानमा प्राप्त भएको १० लाख मात्रा खोप मंगलबारदेखि दिन लागिएको हो । काठमाडौँ उपत्यकाका तीन जिल्लामा ६० देखि ६४ वर्षसम्मकालाई खोप दिइने छ ।

यस्तै अरु अधिकांश जिल्लामा ६२ देखि ६४ वर्षसम्मकालाई खोप दिने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

तर चीनको तिब्बतसँग जोडिएका जिल्लामा १८ वर्षमाथिका र उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा यसअघि पहिलो मात्रा लगाउने क्रममा छुटेका ५५ वर्षमाथिकालाई पनि यो चरणको अभियानमा पहिलो मात्रा खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरि यो चरणको खोप अभियानमा यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीमा रहेका नर्सिङ र पारामेडिक्सले पनि पहिलो मात्रा खोप लगाउन पाउने छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको पहिलो मात्रा र ७ लाख १५ हजार १ सय ६३ जनाले दोस्रो मात्रा लगाएका छन् ।

नेपालगन्जमा भोलिदेखि
नेपालगन्ज उप–महानगरपालिमा यहि जेठ २६ गते जेष्ठ नागरिकका लागि कोभिड विरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा विहान १० बजेदेखि ४ बजेसम्म ६२ देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई खोप लगाउन लागिएको स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।

यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई खोप लगाउने भनिएकोमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाबाट उपलब्ध भ्याक्सिनबाट दोश्रो मात्राको सुनिश्चितता गरि खोप लगाउनुपर्ने भएकोले उमेर समूह ६२ देखि ६४ वर्ष कायम गरिएको हो ।

खोप लगाउन आउनेहरुले अनिवार्य परिचय खुल्ने कागजात ल्याउनुपर्ने उपमहानगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here