१० पौष, नेपालगञ्ज । किराँत समुदायले मनाउने उधौली पर्व मंगलवार विभिन्न कार्यक्रमको आयोजन गरि हर्षाेल्लासका साथ मनाइएको छ ।
हरेक वर्षको मंसिर पूर्णिमाका दिन उधौली पर्व मनाइने गरिन्छ ।
पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदै आएका छन् ।
किराँती मान्यता अनुसार यस दिनदेखि हिउँद सुरु भयो, हिउँदको सुरु भए लगत्तै लेकबाट बस्तुभाउ अनि चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रूपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशियालीमा यो पर्व मनाइन्छ ।
किराँतहरूको धार्मिक पुस्तक ’मुन्धुम’मा एउटा समग्र वर्षलाई चराहरूको बसाइ सराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ । उँगौली र उधौंली । किराँतहरूको महान् चाड साकेलाको पनि दुई वटा पर्वमय पक्षहरू छन्, उँगौली र उधौंली ।
उँगो भन्नाले ठेट नेपाली शब्दमा माथि भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ ।
ठेट नेपाली गीत अनि शब्दावलीहरूमा उँगो र उँधो शब्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगति अनि दुर्गति लगायत सुरु या अन्त्य जनाउन उँगो र उँधो शब्दको प्रयोग भएको पाइन्छ ।
पर्वत शृंखलाहरूको लेकतिर बसोबास गर्ने किराँतहरू जाडोको याममा बेसी अथवा तलतिर झर्ने र क्रमशः न्यानो बढेसँगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो ।
परम्परागत भेसभुसा लगाएर यस दिन किराँत दाजुभाइ तथा दिदी–बहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परिक ’साकेला’ नृत्य प्रस्तुत गर्ने चलन छ ।
’हुर्रे हा हा, सोई ढोले सोई एएए अर्को ढोले खै ?’ भन्दै यस दिन पारम्परिक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरू एवं विशेषतः किराँत संस्कृतिको अमूल्य सांगीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाइन्छ ।
महिलाहरूले यस नृत्यमा लगाउने एउटा विशेष किसिमको तासको कपडाबाट बनेको परम्परागत पहिरनलाई छिट्को गुन्यू भनिन्छ ।
त्यसमाथि विशेष किसिमबाट बनाइएको तोङबा या जाँडको मन्द मातले जीवनको रस अनि माधूर्यतालाई एउटा नयाँ उत्साह प्रदान गर्ने गर्दछ । किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमामा उभौली मनाउने चलन छ ।
उँधौली पर्वलाई लिम्बुहरूले चासोक तङनाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरूले फोलस्याँदर भन्दछन् ।
यस पर्व एक दिनका लागि तोकिए पनि यसलाई १५ दिनसम्म मनाउने चलन छ । यस दिन काठमाडौँको टुँडिखेल, इलाम, पाँचथर, तेह्रथुम लगायत देशका विभिन्न किराँतहरूको बाहुल्यता भएको ठाउँमा सार्वजनिक भेला अनि नाचगान हुने गर्दछ परम्परागत पहिरनमा सजिएका किराँती साथीहरूले एक अर्काको हातेमालो गर्दै बडो चित्ताकर्षक ढगंमा प्रस्तुत गर्ने नृत्य हेर्नका लागि मात्रै भए पनि धेरै जना भेला हुने गर्दछन् ।
किराँतहरू भूमिका सन्तानहरू हुन्, यस समुदायमा भूमिको विशेष महत्व अनि आमा पृथ्वीको अद्भुत प्रेम पाइन्छ । यस दिन पवित्र भूमि पूजाका रूपमा पनि लिइन्छ । भूमि अर्थात् माटोको श्रद्धाका साथ पूजा अर्चना गर्दै यस वर्षको अन्नका लागि धन्यवाद दिँदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थना समेत गर्दछन् ।
उधौली पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना लगायत विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गरेका थिए ।
उधौली पर्वको अवसरमा मंगलवार नेपाल सरकारले सार्वजनिक विदा दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here