७ कार्तिक, नेपालगञ्ज । किभा फाउन्डेसनले आफ्नो संस्थाको सुरुवात दुर्गा माताको प्रसाद वितरण अर्थात भण्डाराबाट गर्ने भएको छ ।
बाँकेको नेपालगञ्ज–२१ मा स्थापना भएको किभा फाउन्डेसनले पहिलो पटक कार्यक्रम गर्दैछ । बडा दशैंको घटस्थापनाको दशौ दिनसम्म दुर्गा मूर्तिको पूजाआराधना गर्ने र ११ औं दिनमा मूर्ति विसर्जन गर्ने धार्मिक परम्परा चलिआएको छ ।
विसर्जनको अवसर पारेर किभा फाउन्डेसनले नेपालगञ्ज हुँदै राप्ती पथमा पर्ने डुडुवा गाउँपालिका वडा नं. ४ स्थित शाहपुर्वा चोकमा भण्डाराको आयोजना गरेको संस्थापक अध्यक्ष संगिता पाठक (सन्ध्या शर्मा)ले जानकारी गराएकी छिन् ।
‘नारीः शक्ति समृद्धिको मार्गदर्शिका’ भन्ने मुलमन्त्रका साथ चालुआर्थिक वर्षको साउनदेखि सञ्चालनमा आएको यस फाउन्डेसनले बजार क्षेत्र भन्दा बाहिर कार्यक्रम आयोजना गरेर अभियानको सुरुवात गर्ने महासचिव अजय पाठकले जानकारी दिए ।
उनले भने, ‘बजार भित्र बिभिन्न संघसंस्था र व्यक्तिहरुले भण्डारा लगायतका कार्यक्रम आयोजना गरिरहेकै हुन्छन् तर गाउँघरतिर कमै भएका हुन्छन् । भण्डाराको बहानामा गरिब घरपरिवारका लागि एक छाक टार्नसमेत सहयोग पुग्ने उद्देश्यले बजार क्षेत्र बाहिर यो कार्यक्रम आयोजना गरिएको हो । धार्मिक संगै सामाजिक उत्तरदायित्व समेत पूरा हुन्छ ।’
उक्त फाउन्डेसनको सञ्चालक समितिको अध्यक्षमा नाईल खबरकर्मी संगिता पाठक (सन्ध्या), उपाध्यक्षमा ई–श्रद्धा न्यूजका सञ्चालक शिवम गुप्ता, कोषाध्यक्षमा श्री एस ईन्टरनेसनल प्रा.लि.का सञ्चालक रामदिन मोदी, महासचिवमा नाईल खबरका सञ्चालक अजय पाठक र सदस्यमा वर्मा एण्ड एसोसिएट्सका राजकुमार लोध रहेका छन् ।
फाउन्डेसनले असोज १५ गतेदेखि आजिवन सदस्य र साधारण सदस्यका लागि फारम खुल्ला गरेको छ । देशको जुनसुकै स्थानबाट नेपाली नागरिकले सदस्याता लिनपाउने सदस्यता संयोजक मन्सुर इद्रिशीले जानकारी दिए । जिल्लाका विभिन्न स्थानबाट सदस्यता लिनेहरुको क्रम जारी छ ।
यस कार्यक्रममा नाईल खबर डट कम, मेरो होस्टिङ्ग, लिओ कलब अफ काठमाडौँ गुलमोहर, लिमरा खबर र ई श्रद्धा न्यूजको सहकार्य रहेको छ ।
किभा फाउन्डेसनले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै माहिलाहरुको लागि विशेष काम गर्ने, आर्थिक रुपमा कमजोर वा असहाय परिवारका बालिकाहरुलाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने, विवाहमा आर्थिक सहयोगका साथै अति विपन्न परिवारका बालिकाहरुको सामाजिक, रीतिरिवाज तथा धार्मिक परम्परा अनुसार सामुहिक रुपमा विवाहको आयोजना गर्ने मुख्य उद्देश्य रहेको महासचिव पाठकले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here