११ भाद्र, नेपालगञ्ज । बाँके प्रहरीले करोड बढि मूल्यको अवैध सुनचाँदी सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजापुर ४ बर्दियाका ४२ वर्षीय निम प्रकाश सुनार, नेपालगञ्ज ११ का २१ वर्षीय राहुल सोनार, नेपालगञ्ज २ का महेश मुराउ र राप्तीसोनारी ४ का ओमजंग चौधरी रहेका छन् ।
सोमबार दिउँसो विशेष सुराकीको आधारमा बाँके प्रहरीले बिल भरपाइ नभएको ४०७ ग्राम सुना सुन र साढे १० केजी चाँदी र ०३०१–०२४ च ६७६३ नम्बरको कारसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् । बरामद गरिएको सुनचाँदीको मूल्य १ करोड ५ लाख ३३ हजार ४ सय ४७ बराबरको रहेको छ ।
गाडी राजापुर ८ बर्दियाका ४० वर्षीय नेपाली थारुले चलाएका थिए । कारमा सवार निम प्रकाशबाट सुन जस्तो देखिने ६७ ग्राम पहेलो धातुका टुक्रा र राहुलको साथबाट चाँदी जस्तो देखिने १७२ ग्राम पायल तथा तार बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै नेपालगञ्ज २ मा महेश मुराउले सञ्चालन गरेको पशुपति सुन चाँदी रिफाइन कारखानामा तलासी गर्दा अवैध सुनजस्तो देखिने ३४० ग्राम धातु र चाँदी जस्तो देखिने १० केजी ४४१ ग्राम तौल रहेको धातु बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरि सोही कारखानामा रहेका ओमजंग चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद सुनचाँदी र कार राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here