१२ पौष, नेपालगञ्ज । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङ नेतृत्वको सरोकारवाला निकायहरु समेत सम्मिलित अनुगमन टोलीद्वारा बिहीवार औषधी बिक्री पसल तथा फार्मेसीको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा ईशा मेडिकल हलमा बिल बिजक बिना कारोबार भएको पाइएकाले १० हजार जरिबाना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी गराए ।
यस्तै नेपालगञ्ज मेडिकल कलेज भित्रका फार्मेसी र एचसीआरसीभित्रको फार्मेसी लगायत सबै औषधी पसललाई डायट्री सप्लिमेन्टहरु औषधी भन्दा छुट्टै स्थानमा राख्न निर्देशन दिइएको, छुट्टै अभिलेख राखेर बिक्री गर्नु पर्ने प्रकृतिका औषधिहरुको व्यवस्थापनका विषयमा नियमानुसार गर्न निर्देशन दिइएको, फार्मेसीमा खटिएका कर्मचारीहरुको नियुक्ति, योग्यताका प्रमाण पत्रहरु औषधि व्यवस्था कार्यालयमा पेश गर्न निर्देशन समेत दिइएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी गराएका छन् ।