१७ पुस, नेपालगञ्ज । ईस्वी सन्को २०२४ लाई विदाई गर्दै नयाँ वर्ष २०२५ को भव्य स्वागत गरिएको छ ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२५ प्रारम्भ भएको छ ।
जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको मान्यता रहेको छ ।
पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको ज्योतिषाचार्यहरुको भनाइ छ । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।
सौरमास र चन्द्रमासको समन्वयबाट वैदिक कालदेखि नै शुरु भएको विसं जति वैज्ञानिक नभएपनि हाल इस्वी सनको प्रभाव विश्वव्यापी छ । ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेण्डको एक वर्ष हुन्छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ को आयोजन गरेर यो संवत् मनाइन्छ ।
वर्ष २०२५ को भव्य स्वागतका लागि नेपालगञ्ज, कोहलपुर लगायत देशको विभिन्न स्थानमा थुपै्र रात्रीकालिन कार्यक्रमको आयोजना गरिएको छ ।
यसैगरि आज नेपाली टोपी दिवस मनाइँदैछ ।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस मनाउन थालिएको हो ।
नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।
यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको संख्या बढिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here