७ फागुन, नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरुको एक महिने व्रतको महान पर्व रमजान प्रारम्भ भएको छ ।
बुधवार चन्द्रमा देखिएपछि आजदेखि एक महिने व्रत प्रारम्भ भएको हो ।
यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानी समेत खाँदैनन् ।
उर्दू क्यालेण्डर अनुसार बिहान ४ः१५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।
रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४७ हो भने रमजान महिना नवौँ महिना हो ।
रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।
रमजान महिना इस्लाम धर्मावलम्बीहरुका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा इस्लाम धर्मका पाँच आधार स्तम्भमा हजबाहेक सबै स्तम्भ पूरा हुनेगर्दछ ।
यस पवित्र रमजान महिनामा शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने धार्मिक अगुवाहरु बताउँछन् ।
त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन् ।
देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास छ । वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ ।
एक महिने व्रत समाप्तिको खुशियालीमा भोलिपल्ट ईद पर्व मनाउने गरिएको छ ।
रमजानको व्रत प्रारम्भ भएपछि नगरका मस्जिदहरुमा व्रतालुको घुइँचो निकै नै बढेको छ ।






