१२ असार, नेपालगञ्ज । इस्लामी संघ नेपालले देशव्यापी लागुऔषध विरुद्धको अभियान सञ्चालन गरेको छ ।
यो अभियान २०८१ असार ११ गतेदेखि १६ गते तद्अनुसार २०२४ जुन २५ देखि ३० तारिखसम्म चल्नेछ ।
इस्लामी संघ नेपाल देशकै एउटा प्रमुख र जेठो धार्मिक सामाजिक संस्था हो। स्थापना कालदेखि नै यो संस्था समाज सुधार, विकास र कल्याणका लागि क्रियाशील छ। यस संस्थाले विगतका दिनहरुमा समाजमा व्याप्त विकृति र विसङ्गति विरुद्ध जनचेतना कार्यक्रम गर्दैआएको छ। तसर्थ यस वर्ष पनि संस्थाले मादक पदार्थ तथा लागुऔषधविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश पश्चिम भेग, नेपालगन्ज,बाँकेका अध्यक्ष ओवेद उर रहमान खानले बताएका छन् ।
उनले भने, नेपाल सरकारसँग हाम्रो अपील छ कि सरकारले मादक तथा लागू पदार्थको उत्पादन, व्यापार, आयात र निकासीमा कडा प्रतिबन्ध लगाओस् । त्यस्ता कम्पनीको दर्ता खारेज गरी अन्य उपयोगी खाद्यपदार्थ उत्पादनमा संलग्न गराओस् । सरकारले आफ्नो संचार माध्यमहरुमार्फत चेतना फैलाओस्, मादक तथा लागू औषधको भयानक असरबारे प्रचार गरोस् । मानिसहरु सचेत भएनन् भने यस्ता अपराधीहरुलाई कडा कारबाही होस् किनभने लागुऔषध मुक्त समाज नबनाएसम्म विकासित र समृद्ध नेपाली समाजको निर्माण पटक्कै सम्भव छैन ।
यस अभियानमा हामीलाई साथ दिन र लागुऔषध मुक्त नेपाली समाज निर्माणमा आ-आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरिदिनुहुन सम्पुर्ण धार्मिक तथा सामाजिक अगुवाहरु, देशका महिला तथा पुरुष तथा प्रभावशाली व्यक्तित्वहरुमा अनुरोध गर्दछौं ।
मिडियासँग सम्बन्धित संस्थाहरू र हाम्रा आदरणीय दाजुभाइ दिदी बहिनीहरूलाई अनुरोध छ कि मादक तथा लागुऔषधको प्रचारप्रसारको लागि कुनै ठाउँ उपलब्ध नगराउनुहोस् । गलत कुराको प्रचारप्रसारमा साथ दिनु मिडियाको दुरुपयोग र नैतिक अपराध हो । लागुऔषध विरुद्धको यो अभियानमा हामीलाई साथ दिनुहोस् । मिडियाको माध्यमबाट नै यो आवाज देशका हरेक नागरिकसम्म पुग्न सक्छ । यदि तपाईहरुले हाम्रो कार्यक्रमहरुलाई आफ्नो मिडियामा स्थान दिनुभयो भने अल्लाहको कृपाले समाजको ठूलो संख्याले मादक तथा लागुऔषधबाट बच्ने प्रण लिनेछ, सभ्य र सचेत नागरिकको रूपमा जीवन बाँच्नेछ, देश र राष्ट्र निर्माणमा आफ्नो उचित योगदान दिनेछ, र हाम्रो नेपाल समृद्ध, शान्त र सुखी हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here