साउन ९ गते / मनाेज कुमार कौशल
आषाढ शुक्ल पूर्णिमाका दिन आज शनिबार गुरू पूर्णिमा मनाइँदै छ । व्यास र कबीर जयन्ती पनि आजै परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम उल्लेख छ । ‘गु’को अर्थ ‘ अन्धकार’ र ‘रु’को अर्थ प्रकाश हुन्छ । अन्धकाररूपी अज्ञान प्रकाशतर्फ डो-याउन सफल हुने नै गुरू कहलिन्छ ।
पण्डित माधवप्रसाद शर्मा ‘गिरति अज्ञानं इति गुरूअ’ अर्थात् अज्ञान हटाएर ज्ञान प्रदान गर्नेलाई ‘गुरू’ भनिने बताउँछन् । ‘गुरू नै यथार्थ ब्रहम हो र उनकै योगदान चर्चा गर्दै आजका दिन सम्मान गरिन्छ,’ उनी भन्छन्, ‘आज गुरू पूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ । वेद व्यासले वेदवेदान्त, अठार पुराण, उपनिषद् लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन् ।’ यसदिन गुरूलाई सम्मानपूर्वक उपहारसमेत दिने चलन छ । कतैकतै त गुरूदक्षिणा पनि दिइन्छ ।
परापूर्वकालमा गुरू भन्नेबित्तिकै गायत्री मन्त्र सिकाउने, दीक्षा दिने र धनुँबाण सिकाउने मानिन्थ्यो तर अहिले गुरूको परिभाषा विशाल भएको छ । व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान बन्न गुरूले नै सिकाउने विश्वास गरिन्छ ।
शास्त्रमा देव बृहष्पति र शुक्राचार्य गरी दुई ठूला गुरूको चर्चा गरिएको पाइन्छ । पछिल्लो समय गुरूप्रतिको व्यवहारमा परिवर्तन आएको नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम विश्लेषण गर्छन् । ‘पहिले जति उच्च सम्मान अहिलेको पुस्तामा गुरूप्रति पाइन्न, उनी भन्छन्, ‘निष्ठाभन्दा स्वार्थका लागि गुरूप्रति व्यवहार दर्शाउने पाइएको छ ।
समाजमा गुरूकै नाममा फाइदा उठाउनेको पनि कमी छैन ।’ पण्डित शर्मा सुरुमा घरबाटै असल ज्ञान र शिक्षा पाउने बताउँदै बुबाआमालाई नै पहिलो गुरू मान्नुपर्नेमा जोड दिन्छन् । ‘आमाबुबाले जस्तो संस्कार सिकायो, छोराछोरी त्यस्तै हुने हो,’ उनी भन्छन् ।